नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदी वैशाख २८ गते दुई दिने भ्रमणका लागि आउने र उनलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने जनाएको छ।
काठमाडौं महानगरपालिकाले मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखेको छ।
मोदीलाई २८ गते नै राजधानीको टुँडिखेलमा गार्ड अफ अनर दिइनेछ। त्यही दिन साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।
भ्रमणका क्रममा मोदी मुस्ताङको मुक्तिनाथ जाने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली र मोदीले रिमोटमार्फत् ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्नेछन्।
वैशाख २८ गते मोदी भारतको पटना हुँदै हेलिकप्टरबाट जनकपुर आउने छन्। त्यहाँ उनले जानकी मन्दिरमा पूजा गर्ने छन्।
मोदीलाई बाह्रबिगामा नागरिक अभिनन्दन गरिनेछ। प्रदेश २ को सरकारले मोदी आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।