सरकारले अत्यावश्यक सेवा बन्द गरेको भन्दै यातायात व्यवसायीलाई पक्राउ गरेको छ।
सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै शुक्रबार देशभरि सार्वजनिक यातायात नचलाएका व्यवसायीलाई सरकारले पक्राउ गरेको हो।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलालाई राजधानीबाट पक्राउ गरिएको छ।
‘रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्न जाँदा मलाई प्रहरीले पक्रेर ल्याएको छ,’ सिटौलाले सेतोपाटीसँग भने, ‘अन्य ठाउँमा पनि साथीहरू पक्राउ परेका छन्। हामी वार्ता र छलफलबाट समस्याको समाधान गर्न चाहन्छौं। ’
बुटवलस्थित सेतोपाटीकर्मी भगवती पाण्डेका अनुसार पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन कुमार बन्जाडे र महासचिव पदमराज गहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्डिकेट हटाउने सरकारको निर्णयबिरुद्ध आन्दोलित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य बन्जाडे र महासचिव गाहालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।
बुटवल मिलनचोकबाट प्रहरीले शुक्रबार दिउँसो बन्जाडेलाई नियन्त्रणमा लिएको हो।
यसअघि यातायात ठप्प पार्ने व्यवसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो।
हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने व्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका हुन्।
स्रोतका अनुसार गृह मन्त्री थापाले बन्द गर्ने व्यवसायी र समितिको सम्पत्तिसमेत छानबिन गरी आवश्यक अनुसन्धानअघि बढाउन पनि निर्देशन दिएका छन्।
‘सवारी साधन नचलाएर सरकारी निणर्यको विरोध गर्नेलाई कारबाही गर्नू र उनीहरुको सम्पतीको पनि छानविन थाल्नू भनेर मन्त्रीज्यूले स्पष्ट रूपमा भन्नु भएको छ,’ गृह स्रोतले भन्यो।
व्यवसायीले सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै आज देशभरि सार्वजनिक यातायात चलाएका छैनन्।
यातायात व्यवस्था विभागले गाडी नचलाउने व्यवसायीको रूट पर्मिट आजै खारेज गरिने जनाएको छ।