श्वेतपत्रमा कांग्रेसको जवाफ-पछिल्ला १० वर्षमा धेरै अर्थमन्त्री त कम्युनिष्ट थिए


प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सरकारले तथ्यांकमा बेइमानी गरेर चुनावी एजेन्डा स्थापित गर्न श्वेतपत्र ल्याएको आरोप लगाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र जारी गरेको १० दिनपछि पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले विगत दशकमा भएका तमाम प्राप्तिलाई बेवास्ता गर्दै सरकारले ल्याएको श्वेतपत्र ‘अमूल्य समयको व्यर्थको व्यय’ भएको बताएको हो।

‘हालसम्मका आर्थिक उपलव्धिलाई बेवास्ता गरेर शून्यबाट समृद्धिको शुरुवात गर्न लागेका हांै भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा यो श्वेतपत्र कोरिएको महशुस हुन्छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

नेपाली कांग्रेसले धरासायी अर्थतन्त्र छोडेको थियो र हामीले सम्हाल्यौं भन्ने भोलिको चुनावी एजेन्डा स्थापित गर्ने मनोविज्ञानको जगमा श्वेतपत्र उभिएको कांग्रेसको आरोप छ।

‘२५ वर्षमा ६२ गुणाले राजश्व बढेको, समयपछि लगालग ६ प्रतिशतको आर्थिक वृद्धि हुन लागेको, ऐतिहासिक रूपमै न्यून विन्दुमा मूल्यवृद्धि झरेको कुरालाई श्वेतपत्रले कुनै स्थान नदिनु देशमा निराशा फैलाउनु हो,’ कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको आंकाक्षालाई सम्भव तुल्याउन तुलनात्मक रूपले अनुकुल वातावरण नयाँ सरकार र नयाँ अर्थमन्त्रीलाई प्राप्त रहेको तथ्य श्वेतपत्रले शब्दमा स्वीकार्नु सायद आवश्यक ठानेन, यो पहिलो अवसर हो।’

२०४६ सालको परिवर्तनपछि कांग्रेसको नेतृत्वमा प्राप्त उच्च आर्थिक वृद्धिदरपछि यताका कुनै पनि अर्थमन्त्रीले यस्तो वृद्धिदर प्राप्त गरेका थिएनन् भन्ने सत्यतथ्यलाई उत्साहपूर्वक आत्मसात गरेर अबको लक्ष्य र कार्यक्रम दुई अंकको वृद्धिदरतर्फ केन्द्रीत गर्नतर्फ लाग्नु जिम्मेवारपूर्ण हुने कांग्रेसको ठहर छ।

‘त्यसो नगरेर ‘निराशा पत्र’ को निर्माण र प्रस्तुतिले ‘अमूल्य समयको व्यर्थको व्यय’ हुन पुगेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

विगतमा जस्तै सरकारको ढुकुटीमा अहिले पनि ३ खर्बभन्दा बढी रकम बचत रहे पनि कांग्रेसले रित्तो ढुकुटी छोडेको थियो भन्ने भ्रम सिर्जना गर्न सरकारी ढुकुटी लगभग रित्तो छ भनिएको कांग्रेसको आरोप छ।

‘पूँजीगत बजेट खर्च हुन नसकेको भन्ने अर्थमन्त्रीकै वाक्याशंले ढुकुटीमा रकम मौज्दात रहेको पुष्टि एकातर्फ गर्दछ भने यो सरकार बन्दै गर्दा ३ खर्बभन्दा बढी र हाल त्योभन्दा केही कम अर्ब रूपैयाँ राष्ट्रको ढुकुटीमा मौज्दात रहेको विवरण सार्वजनिक भइसकेको छ। स्थानीय तहका लागि छुट्याइएको रकम पनि राज्य कोषकै हो’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले हामीलाई रित्तो ढुकुटी सुम्पिएको थियो भन्ने छवि स्थापना गर्न चाहेको प्रोपोगाण्डा केही दिन भित्रै झुठ प्रमाणित भइसकेको छ।’

कांग्रेसले लिएको अर्थनीतिलाई एकातिर गलत भन्ने तर अर्कोतिर त्यही नीतिमा रहेर वित्तीय अनुशासन उल्लंघन गर्ने प्रवृत्ति वामपन्थी सरकारमा व्याप्त रहेको कांग्रेसको ठहर छ।

‘कांग्रेसको अर्थनीति गलत छ,’ भनेर शब्दमा भन्ने तर केही ‘पपुलिष्ट’ कार्यक्रम गाँसेर अन्ततः कांग्रेसले रोजेकै अर्थनीति पछ्याउने ‘हिँड्न नचाहेको तर छोड्न पनि नसक्ने’ अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको धरातलमा श्वेतपत्र आएको कांग्रेसको बुझाइ छ।
कांग्रेसले आफ्ना सरकारले गरेका कुरा पनि जवाफमा समेटेको छ।

सन् २०१५ मै सहसह्राब्दि विकास लक्ष्य पूरा हुँदा उल्लेख्य रूपमा मानवीय विकासमा प्रगति भएको, पूर्वाधार, औसत आयु, साक्षरता, सञ्चार, वित्तीय सेवाजस्ता क्षेत्रमा उल्लेख्य प्रगति भए पनि अर्थमन्त्रीले पूरै बेवास्ता गरेर तथ्यांकमा बेइमानी गरेको कांग्रेसको ठहर छ।

‘निश्चित कालखण्डको छाँया चित्रका रूपमा इमान्दार ढंगले प्रस्तुत भएको छैन। श्वेतपत्रको प्रस्तुति कुनै निश्चित कालखण्डको तथ्याकं र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले प्रेरित देखिन्छ,’ कांग्रेसले भनेको छ, ‘कहीँ दुई वर्षको चित्र छ त कतै अढाई दशकको, कुनै सन्दर्भमा दश वर्षको मूल्याकंन छ त कहीँ पाँच वर्षको टिपोट गाँसिएको छ। यसरी भिन्नभिन्न समय खण्डको चित्र गाँसेर श्वेतपत्र निर्माण गर्नु निर्माण गर्ने शास्त्र यस्तै नै हुन्छ भन्ने नैतिक ठहर कुनै पनि अर्थशास्त्रीले गर्न सक्छन् जस्तो लाग्दैन।’

कांग्रेसले अर्थतन्त्र समस्यामुक्त नरहेकोमा कुनै विमति नरहेको प्रष्ट पारेको छ।

पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले विगतमा भएका र आज पनि रहेका कमजोरी जिम्मेवारी लिन कांग्रेस तयार रहेको बताए।

१० वर्षमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिष्ट प्रधानमन्त्रीले वा अर्थ मन्त्रालयमा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेको र त्यहीनुसार दोषको भाग लिन कांग्रेस तयार रहेको उनको भनाइ छ।

यस्तो छ कांग्रेसको जवाफ 

आदरणीय पत्रकार मित्रहरु,
केही दिन अगाडि नेपाल सकारका तर्फबाट जारी गरिएको श्वेतपत्रका सम्वन्धमा नेपाली कांग्रेस पार्टीका तर्फबाट संक्षिप्त धारणा प्रस्तुत गर्न निम्त्याइएको यो पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु।

१. तुलनात्मक रुपले सहज राजनीतिक वातावरण नयाँ सरकारलाई प्राप्त हुनु समृद्धिको दिशामा अत्यन्तै सुनौलो अवसर हो, यो तथ्यमा कसैको पनि विमति नरहला । नयाँ नेतृत्वले निकट विगतका प्रति आलोचनात्मक चेत प्रस्तुत गर्नु अलग कुरा तर नैतिक इमान्दारिता भन्दा पर गएर संगतीरहित सन्दर्भहरु गाँसेर असन्तुलित रुपमा तथ्यांकहरु श्वेतपत्रमा जो प्रस्तुत भएको छ, त्यसलाई “अबौद्धीक र अव्यवसायिक मुचुल्का” हठर गर्नु पर्ने प्रारम्भिक स्थिती वन्दछ ।

२. मुलुकको समृद्धिका लागि नागरिकमा नविन आशा र जाँगरिलो विश्वास भर्नु राज्यको कर्तव्य हुन्छ । तर अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशाको राज्य विस्तार मात्रै हुन सक्दछ । अतः श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्नु हाम्रो कर्तव्य हुन पुगेको छ ।

३. राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलव्धिलाई नकार्ने र हामीले शुन्यबाट समृद्धिको शुरुवात गर्न लागेका हौ भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा यो श्वेतपत्र कोरिएको महशुस हुन्छ । विरासतमा धरासायी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको थियो र हामीले सम्हाल्यौं भन्ने भोलीको चुनावी ऐजेण्डा स्थापित गर्ने मनोविज्ञानको जगमा यो उभिएको प्रष्ट छ । त्यसैले वितेको २५ वर्षमा ६२ गुणाले राजश्व वृद्धि भएको तथ्य श्वेत पत्रमा कतै उल्लेख छैन । पञ्चायती व्यवस्थाले जादै गर्दा हाम्रो हातमा १२ अर्वको राजश्व छोडेको थियो, आज ७ सय अर्व माथीको आकार वढेको तथ्यलाई भुल्न मिल्दैन ।

४. राजनीतिक रुपमा हाम्रा भिन्न दार्शनिक या मुद्दागत द्वन्द्व हुन सक्दछन र छन् । तर, आजका राजनीतिक उपलव्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो । यसलाई संस्थागत तुल्याएर समृद्धिको दिशामा अघि वढ्नु हाम्रो साझा कर्तव्य हो । तर, श्वेतपत्रको नियत आर्थिक परिसूचक र सन्दर्भहरुको संगतीपूर्ण प्रस्टताले होइनराजनीतिक पूर्वाग्रहको श्रेष्टताले उत्पादित देखिन्छ ।

५. मुलुकले अढाई दशक यता अपनाएको अर्थनीति अबको पनि बाटो हो । यो दावा हामी के पृष्ठभूमिका साथ गर्न सक्दछौ भने “कांग्रेसको अर्थनीति गलत छ” शब्दमा भन्ने तर केही “पपुलिष्ट” कार्यक्रम गाँसेर अन्ततः कांग्रेसले रोजेकै अर्थनीति पछ्याउने कर्म विगतमा कम्युनिष्ट नेतृत्वको सरकार र कम्युनिष्ट अर्थमन्त्रीहरुले गर्दै आउनु भएको छ । अतः “हिड्न नचाहेको तर छोड्न पनि नसक्ने” अर्थनीतिको गम्भीर मनोवैज्ञानिक विरोधाभाषको मनोवैज्ञानिक जमिनमा यो श्वेतपत्र उभिएको प्रष्ट छ ।

६. श्वेतपत्र निश्चित कालखण्डको छायाँ चित्रका रुपमा इमान्दार ढंगले प्रस्तुत भएको छैन । कुन निश्चित कालखण्डको तथ्याकं र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले प्रेरित देखिन्छ श्वेतपत्रको प्रस्तुति । कहींदुई वर्षको चित्र छ त कतै अढाई दशकको, कुनै सन्दर्भमा दश वर्षको मुल्याकंन छ त कहीं पाँच वर्षको टिपोट गाँसिएको छ । यसरी भिन्न भिन्न समय खण्डको चित्र गाँसेर श्वेतपत्र निर्माण गर्नु श्वेतपत्र निर्माण गर्ने शास्त्र यस्तै नै हुन्छ भन्ने नैतिक ठहर कुनै पनि अर्थशास्त्रीले गर्न सक्छन् जस्तो लाग्दैन ।

७. विगत १० वर्षमा मुलुकको अर्थतन्त्र बढी विग्रिएको चर्चा श्वेतपत्रमा गरिरहदा के स्मरण गरिनै पर्दछ भने यो दशकमा अधिकांश समय मुलुकको सत्तामा कम्युनिष्ट प्रधानमन्त्रीले वा अर्थमन्त्रालयमा कम्युनिष्ट अर्थमन्त्रीले नेतृत्व सम्हालेका थिए । ७६ प्रतिशत बढी समय गैरकांग्रेसी नेतृत्वले यो १० वर्षमा मुलुकको नेतृत्व गर्दा जे जति वेथिती भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौ, तर दुई तिहाइ अंश भने कम्युनिष्ट दलहरुकै भागमा पर्ने तथ्य हामी यहाँ प्रष्ट्याउन चाहन्छौ ।

८. दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकको आंकाक्षालाई सम्भव तुल्याउन तुलनात्मक रुपले अनुकुल वातावरण नयाँ सरकार र नयाँ अर्थमन्त्रीलाई प्राप्त रहेको तथ्य श्वेतपत्रले शब्दमा स्वीकार्नु सायद आवश्यक ठानेन । लामो समयपछि लगालग ६ प्रतिशतको आर्थिक वृद्धि हुन लागेको यो पहिलो अवसर हो । अनेक प्रतिकुलताका बिच यो वृद्धिदरलाई निराशाजनक भन्न किमार्थ मिल्दैन । २०४६ सालको परिवर्तन पश्चात कांग्रेसको नेतृत्वमा प्राप्त उच्च आर्थिक दर पछि यताका कुनै पनि अर्थमन्त्रीले विराशतमा यस्तो वृद्धिदर प्राप्त गरेका थिएनन् भन्ने सत्यतथ्यलाई उत्साहपूर्वक आत्मसात गरेर अबको लक्ष्य र कार्यक्रम दुई अंकको वृद्धिदरतर्फ केन्द्रीत गर्न तर्फ लाग्नु चाहि जिम्मेवार कदम हुन्थ्यो । त्यसो नगरेर “निराशापत्र” को निर्माण र प्रस्तुतिले “अमुल्य समयको व्यर्थको व्यय” हुन पुगेको हाम्रो ठहर छ ।

९. के मुलुकको ढुकुटी रित्तो छ ? श्वेतपत्र जारी भएपछि यस्तो सन्देश गएको छ र त्यही सन्देश दिने प्रयत्न सत्तापक्षले गर्न खोजेको देखिन्छ । तर “पुँजीगत बजेट खर्च हुन नसकेको” अर्थमन्त्रीकै वाक्याशंले ढुकुटीमा रकम मौज्दात रहेको पुष्टि एकातर्फ गर्दछ भने यो सरकार बन्दै गर्दा ३ खर्व भन्दा वढी र हाल त्यो भन्दा केही कम अर्व रुपैया राष्ट्रको ढुकुटीमा मौज्जात रहेको विवरण सार्वजनिक भइसकेको छ । स्थानीय तहका लागि छुट्याइएको रकम पनि राज्य कोषकै हो । १० अर्व डलर बराबरको विदेशी मुद्रा संचिती रहेको विवरण पनि यसबिचमा सार्वजनीक भएको छ । कांग्रेसले हामीलाई रित्तो ढुकुटी सुम्पिएको थियो भन्ने छवी स्थापना गर्न चाहेको प्रोपोगण्डा केही दिन भित्रैमा झुठ प्रमाणीत भइसकेको छ ।

१०. मुलुकको बजेटमा वाह्य निर्भरता घट्दै गएको सकारात्मक पाटोलाई श्वेतपत्रमा स्मृति गरिएको छैन । पच्चीस वर्ष अघि ३५ प्रतिशत भन्दा माथी विदेशी सहायतामा निर्भर रहेर बजेट बनाइन्थ्यो । तर अहिले त्यो निर्भरता १५ प्रतिशत भन्दा तल आइपुगेको छ । बजेटमा वैदेशीक निर्भरता घटाउँदै लगिएकोतथ्य नेपाल देशका लागि के उत्साहवर्धक तथ्यांक होइन र ?

११. अतिकम विकसित राष्ट्रको सुचिबाट विकाशोन्मुख राष्ट्रमा नेपाल देशको स्तरोन्नती हुने अवस्थाको पूर्वाधार वितेको केही वर्षमा तयार भइसकेको छ । तीन वटा निश्चित मापदण्ड मध्ये आवश्यक दुईवटा पुरा भइसकेको र प्रतिव्यक्ति आयको मापदण्ड प्रगति उन्मुख रहेको विषय “नेपाल एक कदम अघि बढ्दैछ” भन्ने मनोवैज्ञानिक सन्देशका लागि मात्रै होइन, व्यवहारिक सन्दर्भमा पनि महत्वपूर्ण पाटो हो । परिवर्तित राजनीतिक र आर्थिक परिदृष्यमा राष्ट्रको स्तरोन्नतीको यो अध्यायलाई गौरव र गम्भीरता दुबै ढंगले धैर्यसंग सम्पादन गर्न जरुरी थियो र छ ।
१२. सिंगो विश्वले अंगीकार गरेको सन् २०१५ सम्म पुरा गर्ने सहश्राव्दी विकास लक्ष्य निश्चय नै सम्पूर्ण रुपले हासिल भइसकेको छैन, तर त्यसतर्फ केन्द्रीत नेपाल राष्ट्रको प्रयत्नले जे जति प्रगति हासिल गरेको छ, श्वेतपत्रमा त्यसको स्मृतिसम्म नगरिनु राज्यको प्रगतिप्रतिकै अन्याय हो । 
१३ तीनवटा तहको निर्वाचन सम्पन्न भई मुलुकले स्थीर राजनैतिक गति समाएका बेला शेयर बजार भने किन ओह्रालो लाग्यो ? बजारमा नयाँ सरकारकाप्रति विश्वासको ग्राफ अग्लिनु पर्नेमा किन त्यस्तो हुन सकेन ? कम्युनिष्ट दर्शनले विश्वास गर्ने राज्य नियन्त्रित अर्थव्यवस्था तर्फ होइन कांग्रेसले विश्वास गर्ने उद्धार अर्र्थतन्त्रकै बाटोमा नयाँ सरकार हिड्नेछ भनेर बजारलाई समयमै आस्वस्त तुल्याउन नसक्नु र जिम्मेवार तहबाट निरुत्साहित अभिव्यक्ति सार्वजनिक हुँदा बजारमा त्यसले नकारात्मक परिणाम ल्याउनु स्वभाविक थियो । अनुत्पादक क्षेत्र करार गरिरहदा सहरिया मध्यम वर्ग मात्रै होइन, ग्रामीण क्षेत्रका निम्न वर्गीय नागरिक पनि त्यसको मारमा पर्न पुगे र परेका छन् भन्ने पीडाको प्रतिध्वनी संगीतमय ढंगले अर्थमन्त्रालय या सिंहदरवारमा सायद गुञ्जिएन । त्यसैले हुनुपर्छ श्वेतपत्र तयार गरिरहदा शेयर मार्केटका सम्वन्धमा सकारात्मक दृष्टिकोण प्रवाह गर्ने कुनै गम्भीरता प्रस्तुत भएन ।

१४. नकारात्मक सन्देशले शेयर मार्केटमा असर गरेझै मुलुकको पर्यटन क्षेत्रमा पर्न सक्ने असरका बारेमा श्वेतपत्रका निर्माताहरुले हेक्का राखेको देखिएन । यो वर्ष ९ लाख ४० हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले भएको वृद्धि हो । समृद्धिको हाम्रो यात्रामा पर्यटन क्षेत्रको यो सुधार र सकारात्मक संकेतले आगामी दिनमा महत्वपूर्ण योगदान गर्ने देखिन्छ । तर श्वेतपत्रले यो सुखद तथ्याकंलाई समेटेको छैन ।

१५. श्वेतपत्रले हाम्रो अर्थतन्त्रको सकारात्मक पाटोका बारे आँखा चिम्लिएको भएपनि यस बारेमा टिप्पणी गरिरहँदा यसले उठाएको वस्तुगत तथ्यप्रति हाम्रो विमति छैन । अर्थतन्त्रको आकार सानो रहेको वास्तविकता, निजी होस वा सरकारी दुबै क्षेत्रमा पूँजी निर्माण गतिको सुस्तता, रोजगारीको अवसर पर्याप्त मात्रामा श्रृजना गर्न नसकेको स्थिति, कतिपय समयमा गैह्र बजेटरी खर्च वढेको–वढाइएको सन्दर्भ, राजश्व चुहावट अनुसन्धान र नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसकेको सत्यता, वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्न नसकेको स्थिती, भन्सार प्रणालीको पर्याप्त सुधार हुन नसकेको यथार्थ, अनि विकास बजेट सम्पूर्ण प्रयोग हुन नसकी फ्रिज हुँदै आएको तथ्य ।

श्वेतपत्रले औल्याएको यी नकारात्मक सूचकहरुको पृष्ठभूमिमा निम्न चार तथ्य स्मरण गर्न जरुरी हुन्छ ।
क) लामो समयदेखिको राजनैतिक अस्थिरता ।
ख) दशक लामो हिंशात्मक द्वन्द्व र त्यसले छोडेको दुस्परिणाम ।
ग) “भविष्यको नेपाल केन्द्रीत” दुरगामी होइन “चुनाव केन्द्रीत” बजेट निर्माणको शिलान्यास गर्ने कम्युनिष्ट प्रवृत्ति ।
घ) कम्युनिष्टहरुलाई लोकतान्त्रिक रुपान्तारण गराउन समर्थ रहदा पनि बजेट निर्माणमा सस्तो लोकप्रियताको शैलीबाट कतिपय सन्दर्भमा हामी स्वयं निरपेक्ष रहन नसकेको स्थिती ।
अर्थतन्त्रका नकारात्मक सन्दर्भहरुलाई न्यून गर्दै लगेर समुन्नतीको दिशामा अघि वढ्न गहिरो छलफल र ऐक्यवद्ध साझा प्रयत्नबाट मात्रै संभव छ । श्वेतपत्रले जिम्मेवार ढंगले त्यो दिशामा सकारात्मक पहल गर्न खोजेको देखिएन ।

१६. सरसर्ति एक झलकमा हेरौं कांग्रेस नेतृत्वमा विगत २५ वर्षमा भएका केही उपलव्धिहरुको तुलनात्मक चित्र
वि.स. २०४८ वि.स. २०७३
१ गरिबीको रेखामुनी रहेका जनसंख्याको प्रतिशत ४९ २१
२ साक्षरता (प्रतिशत), १५–२४ उमेर समुह ५० ९०
३ प्राथमिक विद्यालयमा खुद भर्ना दर (प्रतिशत) ६४ ९७
४ माध्यमिक विद्यालयको संख्या १,९५९ ३,५९६
५ उच्च शिक्षामा महिला र पुरुषको अनुपात १ः३ १ः१
६ औसत आयु ५४ ७१
७ चिकित्सा र इन्जिनीयरिङ्ग विद्यार्थी संख्या (स्नातक तह) ५७९ ३७,१३०
८ स्वास्थ्य चौकीको संख्या १,०९८ ४,११६
९ शिशु मृत्यु दर (प्रति १,००० जीवित जन्म) १०८ ३३
१० मातृ मृत्यु दर (प्रति १ लाख जीवित जन्म) ८५० २५८
११ खानेपानीको सुविधा पुगेको जनसंख्याको प्रतिशत ३६ ८४
१२ शौचालय र सरसफाई पुगेको जनसंख्याको प्रतिशत ६ ८१
१३ ऊर्जा शक्ति २२७ मे.वा. ८५१ मे.वा. (अर्को २ वर्षमा २३००)
१४ विद्युतमा पहुँच पुगेको जनसंख्याको प्रतिशत ९ ७४
१५ सडक (सबै खालका) ७,३३० कि.मी. ८१,३७१ कि.मी.
१६ सडक (कालोपत्रे र ग्रावल) ४,६१६ कि.मी. ३२,६३९ कि। मी।
१७ सिंचाइ (हेक्टर) ५.४ लाख १४ लाख
१८ टेलिफोन ७१,५६० २७,८५०,००० (मोवाइल)
१९ बैकिंग तथा वित्तीय संस्थाहरुको संख्या ५ ११७
२० कुल ग्राहस्थ उत्पानमा राजस्वको अनुपात (प्रतिशत) ९ २१
२१ बजेटमा विदेशी अनुदान र ऋणको अनुपात (प्रतिशत), ४५ १५
२२ बनले ढाकेको क्षेत्र (कुल क्षेत्रफलको प्रतिशत ३७ ४५

२५ वर्षको प्रस्तुत प्रगति हाम्रो कुनै निजात्मक निबन्ध होइन । राष्ट्रिय योजना आयोग लगायत नेपाल सरकारको अन्य दस्तावेजबाट लिइएका यी विवरणले संसदीय प्रजातन्त्र मार्फत नेपाली कांग्रेसको नीति र नेतृत्वमा भएका केही उपलव्धिहरुको पुष्टि गर्दछ । निराश मनोविज्ञान श्वेतपत्रमा भर्नेहरुलाई प्रस्तुत तथ्याकंले केही आशावादी पक्कै बनाउनेछ भन्ने आशा हामीले लिएका छौं ।

१७. आर्थिक प्रगति र अर्थतन्त्रको कमजोरीको समिक्षा आर्थिक वर्ष ०४९÷०५० यताको गरिरहदा त्यही सेरोफेरोमा ०५२ मा मुलुकमा हिंशात्मक विद्रोह प्रारम्भ भएको सत्य विर्सन मिल्दैन । हिंशाको त्यो कालखण्डमा पनि नेपाली कांग्रेसले निराशाको श्वेतपत्र जारी गरेन बरु आशाको दियो वालिरह्यो । वुँदा नं. १६ मा प्रस्तुत भएको एक हदसम्मको उपलव्धि कस्तो विसम परिस्थितिमा मुलुकले प्राप्त गरेको हो भन्ने पृष्ठभूमिको स्मरण आजको दिनमा गर्न जरुरी छ । २३ वर्ष अघि माओवादी हिंशा शुरु भएको थियो । एमाले पार्टीले त्यही कालखण्डमा सदनदेखि सडकसम्मको नीति अनुरुप अनेक अवरोध सिर्जना गरेकै थियो । केहीपछि राजाको प्रत्यक्ष शासन र त्यस विरुद्धको सडक संघर्षमा व्यतित भएको समय, शान्ति प्रक्रियाको कालखण्ड, संविधान निर्माणमा लागेको समय अनि निर्वाचनमा लगानी भएका दिनहरु । यस्तो स्थितिमा मुलुकले हासिल गर्न सक्ने प्रगतिको आकार सम्भवत यो भन्दा वढी हुन सक्दैनथ्यो ।

१८. वर्तमान प्रधानमन्त्रीले भारत भ्रमण क्रममा “नेपालमा लगानीको वातावरण राम्रो छ, ढुक्कले लगानी गर्न आउनुस” भनेर भारतीय उद्योग व्यवसायीहरुलाई संवोधन गर्नु भन्दा ठिक सात दिन अघि जारी श्वेतपत्रमा अन्तर्राष्ट्रिय परिदृष्यमा नेपालको लगानी वातावरण उत्साहजनक छैन भन्ने उल्लेख गरियो । “अन्तर्राष्ट्रिय परिदृष्य” को हवाला दिदै त्यस्तो विवरण प्रस्तुत गरिरहदा विश्व बैंकबाट प्रकाशित म्यष्लन द्यगकष्लभकक ष्लमभह मा नेपाल १०५ औं स्थानमा रहेको आधार प्रस्तुत गरियो । तर विश्व बैंककै अघिल्लो वर्षको रिपोर्ट भन्दा हाम्रो स्थितीमा सुधार भएको (१०७ औं बाट १०५ औं मा पुगेको अवस्था) नत श्वेतपत्रमा स्मरण गरिएको छ, नत गएको वर्ष आएको वैदेशिक लगानी भन्दा यो वर्षको पहिलो छ महिनामा आएको लगानी वढी छ भन्ने उल्लेख गरिएको छ । विदेशी लगानी भित्र्याउन स्थितिको अतिरञ्जित व्याख्याले किमार्थ सघाउदैन । त्यस्तै ट्रान्फरेन्सी इन्टरनेशनलको ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह मा १२२ औं स्थानमा रहेको उल्लेख गर्दा गत वर्ष १३१ औं मा भएको तथ्य कही उल्लेख छैन । पुरै श्वेतपत्रभरी यस्ता भएका प्रगतिलाई पुरै आखाँ चिम्लिएर इतिहास आजबाट शुरु हुन्छ भन्ने भ्रममा कोरिएका आँकडा निकै छन् चाहे कुल ग्राहस्र्थ उत्पादन वृद्धिदरमा होस या मुद्रा स्थितिमा होस् ।

१९. हाम्रो आजको अर्थतन्त्र आयातमुखि बनेको तथ्यसंग विमति राख्नु पर्ने ठाउँ छैन । लाखौ युवाको वैदेशिक रोजगारीमा गमन र रेमिन्ट्यान्सले वढाएको उपभोक्तावादी संस्कृति पनि तथ्य संगत छ । रेमिन्ट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिनु पर्छ भनेर केही वर्ष यता चल्दै आएको छलफल महत्वपूर्ण छ । एकिकृति पुँजीका रुपमा त्यसलाई विकास गरेर उत्पादन वढाउन सक्दा मुलुकमा आयात घट्ने र निर्यात वढाउन सकिने सम्भावनाहरुले व्यापार घाटा घट्न योगदान पु¥याउनेछन् । अढाई दशकदेखि निरन्तर व्यापार घाटा रहेको र त्यसले ४० प्रतिशतको उचाई टेकेको तथ्य श्वेतपत्रमा अर्थमन्त्रीले प्रस्तुत गर्नु भएकै साता सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमण भयो । तर भ्रमणमा यो विषयलाई उठाइएन । हाम्रो कुल व्यापार घाटाको झण्डै ६५ प्रतिशत घाटा भारतसंगको व्यापारमा छ । श्वेतपत्रमा त्यसले स्थान पाइरहदा प्रधानमन्त्रीको भ्रमणमा त्यसले स्थान नपाउनु र परिस्थितिमा सुधारका लागि कुनै पहलकदमी नहनु दुखद छ ।

२०. नीजिकरण र नीजि क्षेत्रका सन्दर्भमा कम्युनिष्ट दर्शनले के मान्यता राख्दछ सवै विज्ञ छन् तर संसदीय लोकतन्त्र एवं उद्धार अर्थव्यवस्थालाई अंगीकार गरेको नेपालको कम्युनिष्ट पार्टीलाई यस सन्दर्भमा शास्त्रीय दृष्टिकोणबाट प्रभावित रहने छुट विलकुलै छैन । नेपालमा नीजिकरण लहडका भरमा शुरु गरिएको होइन, आवश्यक ऐन निर्माण गरेर, तत्कालिन प्रमुख प्रतिपक्ष दल एमालेका प्रतिनिधि समेतलाई समितिलाई संलग्न गरेर यसलाई अघि वढाइएको थियो । अतः नैतिक जवाफदेहिताबाट कसैले पनि भाग्न मिल्दैन ।
बाँसवारीको छालाजुत्ता कारखाना किन वेचियो ? पच्चीस वर्षपछि पनि उही प्रश्न गर्नेहरु बाँसवारीको त्यही जमिनमा गंगालाल अस्पताल खडा छ भन्ने ज्ञान राख्दैनन् । जुत्ता उत्पादनका लागि अढाई दर्जन नीजि कम्पनी यसबिचमा खुले र तीनले वार्षिक अरवौं रुपैयाको निर्यात गर्दछन् भन्ने थाहा पनि तीनलाई छैन । उदारिकरणको नीतिका कारण अनेकौं बैंक, अस्पताल, संचारगृह, ऐयरलाइन्स लगायतले हजारौंको रोजगारीको अवस्था सिर्जना गरेका छन्, अर्वौको राजश्व राष्ट्रलाई वुझाएका छन् र मुलुकको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याएका छन्। अनेकौ प्रतिकुल समयमा पनि मुलुकको अर्थतन्त्रलाई भरथेग गर्दै आएको नीजि क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्ति हाम्रा लागि स्वीकार्य हुन सक्दैन ।

२१. अरुण तेस्रो जलबिद्युत परियोजनाले सांघातिक कम्युनिष्ट हमला त्यो समयमा व्यहोर्नु नपरेको भए मुलुकको अर्थतन्त्रको गति आज प्रगतिको कुन उचाईमा पुग्न सक्दथ्यो हामी यस बारेमा सार्वजनीक वहसको आवश्यकता पनि देख्दछौं । सो तितो अध्याय मंचन नभएको भए शायद आजको मितिमा जारी गरिएको श्वेतपत्रमा समृद्धिको लामो फेहरिस्तले स्थान पाउने थियो ।

२२. लामो राजनैतिक अस्थीरता, दशक लामो हिंशा र त्यसले छाडेको दुस्प्रभाव, लगानी मैत्री वातावरण अझै चित्तवुझ्दो बन्न नसकेको स्थिती, महत्वपूर्ण जलविद्युत परियोजनाहरु अनेक कारणवश अघि नबढेको अवस्था, भूकम्प एवं नाकावन्दी जस्ता प्रकरणका बाबजुद मुलुकले कैयौं क्षेत्रमा आर्थिक प्रगति गर्नु र विद्यमान समयमा ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहनु सामान्य कुरा होइन ।

२३. अनेक प्रतिकुलता र निराशाका बिच पनि आशा र विश्वासको बलियो आधार जीवित छ भनेर दावा गर्न सक्ने अवस्था छ । अझ स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भई समृद्धिको दिशामा अघि वढ्न तुलानात्मक रुपले सहज राजनीतिक वातावरण मुलुकमा निर्माण भएको छ । यस्तो बेला तथ्यलाई तोडमोड गरेर श्वेतपत्रको नाममा निराशाको “लालपत्र” वाहिर ल्याउनु भन्दा नयाँ भिजन भरिएको दृढ संकल्प पत्र अगाडि सारिएको भए त्यो विवेकपूर्ण र जिम्मेवार कदम हुने थियो ।

२४. समृद्ध मुलुकहरुको अर्थतन्त्रमा पनि कयौं बेला अनेक चुनौती उत्पन्न हुन्छन भने गरिबीबाट माथि उठ्दै गरेको हाम्रो अर्थतन्त्र समस्या र चुनौति रहित विलकुलै हुन सक्दैन । तर जिम्मेवार र आशावादी नेतृत्व त्यसलाई नै भनिन्छ जसले चुनौतीको व्याख्यामा भन्दा वढी समाधानको प्रस्तुतीमा वढी ध्यान केन्द्रीत गर्दछ । जटिल प्रश्नको उठान मात्रै होइन सरल जवाफको निर्माणमा जसले कुशलता प्रस्तुत गर्दछ । हामी अपेक्षा राख्दछौं नेतृत्वको यो परिभाषालाई उत्साहपूर्वक आत्मसात गरिनेछ ।

नेपाली कांग्रेस पार्टी श्वेतपत्र उपर आफ्नो फरक मत दर्ज गरिरहदा पनि मुलुकको समृद्धिका लागि खुला हृदय, सिर्जनात्मक सोच र सहयोगी हातका साथ प्रमुख प्रतिपक्षको भुमिकामा प्रखर ढंगले उभिने व्यहोरा पनि सार्वजनिक गर्दछौं ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.