कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशले गलत फैसला गरे संसदले छानविन गर्ने बताएका छन्।
सिंहदरबार स्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कर छलि जस्ता विषयबारे अदालतले गरेका फैसला सार्वभौम जनताको निगरानीमा रहेको भन्दै यस्तो बताएका हुन्।
'अन्तरिम आदेशका भरमा कर छलिका, भ्याटका यी कतिपय मुद्दाहरु छोडिएका छन्,अन्तिम फैसला कस्तो हुन्छ सार्वभौम जनताले हेरिराखेको छ। जनताको निगरानीमा छ, ' उनले भने 'सार्वभौम जनताको प्रतिबिम्वित हुने संसद हो। फैसला गलत भो भने संसदले महाअभियोग लगाउँछ।'
भ्रष्टाचार गरेको व्यक्तिलाई सरकारले बुझाएपछि न्यायालयले कारवाही गरोस् भन्ने सबैको चाहना भएको उनले बताए। 'कारबाहि नभईकन भ्रष्टाचारीहरु फूलमाला लगाएर किन निस्कन्छन? न्यायालयमा पनि केहि त छ होला नि भन्ने आमजनताको प्रश्न छ,' उनले भने, 'न्यायालय शुद्ध भयो भने सबै कुरा ठिक हुने रहेछ। त्यसैले न्यायालयलाई पारदर्शी र जनमुखि बनाउनै पर्छ। त्यसका लागि सरकारले वातावरण बनाइदिन्छ।'
अब न्यायाधीश नियुक्तिको मापदण्ड बनाउने पनि उनले बताए।
'अब कुनै न कुनै जगमा टेकेर र विधि बनाएर न्यायाधीश नियुक्ति गर्छौँ। त्यसो नगरि सुखै छैन,' उनले भने।