नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा भारतसँगको सम्बन्ध सुमधुर भइसकेको दाबी गरेको छ।
पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता प्रकाशशरण महतले आफू परराष्ट्रमन्त्री रहँदा नै दुई देशबीचको सम्बन्धमा सुधार आइसकेको बताए।
विश्वासको आधारशिला तयार गरी भारतीय नेतृत्वसँग एकएक छलफल गर्दै सम्बन्ध सुधार गरेको महतको दाबी छ।
‘सुशील कोइराला प्रधानमन्त्री हुँदै भारतसँग तिक्तता, चिसोपन आएको थियो। कांग्रेस पनि सामेल प्रचण्ड नेतृत्वको सरकारमा म परराष्ट्रमन्त्री हुँदा भारतीय राजनीतिक नेतृत्वसँग एक-एक गरेर हाम्रा कुरा राख्यौं। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भारतीय पक्षलाई राम्रोसँग बुझाउन सफल भयौं र दुइ देशबीच सम्बन्ध सुमधुर भएको हो’ उनले भने।
ओली प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्ध सुमधुर भइसकेकोले प्रधानमन्त्रीले थप सम्बन्ध सुधार नगरेको महतले बताए।
‘भारतसँगको सम्बन्ध देउवाजीकै पालामा सुमधुर भइसकेको हो। थप कार्यान्वनमा लैजाने कुरा मात्रै हो’ उनले भने, ‘सरकार बाहिर हुँदा आलोचनात्मक कुरा गर्ने अनि सरकारमा गएपछि सम्बन्ध सुध्रियो भनेर हुन्छ? सम्बन्ध सुधार्न थप काम के भयो ?’ उनले भने।
भ्रमणले प्रधानमन्त्री ओलीको व्यक्तिगत सम्बन्ध राम्रो भएको हुन सक्ने महतले टिप्पणी गरेका छन्।
‘देशको सम्बन्ध पहिल्यै राम्रो भइसकेको थियो। उहाँ (ओली) को व्यक्तिगत सम्बन्ध भ्रमणले राम्रो बनायो होला’ उनले भने।
प्रधानमन्त्री ओलीले राजश्व अनुसन्धानलगायत सरकारी संयन्त्र प्रधानमन्त्री मातहत ल्याएको भन्दै कांग्रेसले विरोध जनाएको छ। भारत वा चीन जताबाट रेल आए पनि स्वागतयोग्य कार्य हुने महत बताउँछन्। पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै ल्याएको श्वेतपत्र दलीय चस्माबाट ल्याइएको ‘लालपत्र’ भएको आरोप लगाए।