भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवनमा शनिबार बिहान गार्ड अफ अनर दिइएको छ।
गार्ड अफ अनर समारोहभन्दा केही समयअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई ट्वीटरमार्फत स्वागत गरे।
उनले नेपालीमा ट्वीट गर्दै लेखेका छन्- छिमेकी मित्र राष्ट्र नेपालको प्रधानमन्त्री माननीय ओलीज्यूलाई भारतमा हार्दिक स्वागत छ।
मोदीले प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा स्वागत भने गार्ड अफ अनर समारोहमा गरेका छन्।
गार्ड अफ अनर समारोहमा मोदीसहित भारतीय मन्त्रीहरू सहभागी थिए।
गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले दुबै देशको बीचको मित्रता महत्वपूर्ण रहेको प्रतिक्रिया दिए।
'समय बदलिरहेको छ, नेपाली जनताको चाहनाअनुसार हामी विकास गरिरहेका छौं, म यो कुरा भारतीय सरकार र जनतासँग बाँड्न आएको हुँ,' प्रधानमन्त्री ओलीले भने, 'दुई देश र दुई देशका जनताबीचको सम्बन्ध अझ मजबुद् बनाउन पनि म यहाँ आएको हुँ।'
उनले नेपाल-भारत सम्बन्ध ऐतिहासिक भएको यो भविष्य केन्द्रीत भएको पनि उल्लेख गरे।
आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्दै छन्। वार्ता दिउँसो साढे ११ बजे हैदरावाद हाउसमा हुनेछ।