भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन्।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनेछन्। यस्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गर्ने साढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्तापछि सामूहिक एवं प्रतिनिधिमण्डलस्तरीय छलफल र भेटवार्ता हुने कार्यक्रम छ।
यस्तै नेपाल र भारतका उच्च अधिकारीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरिनेछ।
सो कार्यक्रमलगत्तै उपराष्ट्रपति बेनकैया नायडु र गृहमन्त्री राजनाथ सिंहसँग पनि प्रधानमन्त्री ओलीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । आज साँझ साढे पाँच इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण गरी सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणको तेस्रो दिन अर्थात् आइतबार उत्तराखण्डमा अवस्थित पन्तनगरका लागि प्रस्थान गरी एकीकृत कृषि परियोजनाको निरीक्षण, कृषि विश्वविद्यालयकै सभाकक्षमा मानार्थ विद्यावारिधिको प्रमाणपत्र ग्रहण गर्ने र लगत्तै नयाँ दिल्ली हुँदै साँझ ६ बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता हुने कार्यक्रम छ।