निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिटको बाँडफाँड आज गर्ने भएको छ ।
बुधाबार राष्ट्रियसभाको चुनाव सकिएसँगै आयोगले समानुपातिकतर्फको १ सय १० सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।
बुधबार राष्ट्रियसभा चुनाव सम्पन्न भएर नतिजा आइसकेकाले प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न आयोगले दलहरुलाई पत्राचार गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
आयोगले यसअघि समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी दलहरूले तीन दिनमा नाम सिफारिस गर्नुपर्ने र बिग्रिएमा दुई दिनमा सच्याउनुपर्ने प्रावधान गरेको थियो।
प्रतिनिधिसभाको मत गणना मंसिरको अन्तिम हप्ता नै सकिए पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले अहिलेसम्म समानुपातिकको सिट निर्धारण गरेको थिएन ।
बुधबार सम्पन्न भएको राष्ट्रियसभा चुनावमा एमालेबाट ११ महिलासहित २७, कांग्रेसबाट ६ जना महिलासहित १३ जना, माओवादी केन्द्रबाट ३ महिलासहित १२ जना, संघीय समाजावादी फोरमबाट एक महिलासहित दुईजना र राजपाबाट दुईजना निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकको १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम तथा राजपाले ६/६ सिट पाउनेछन् । दलहरुले संघीय संसदमा पाएको सिट संख्याका आधारमा कम्तिमा ३३ प्रतिशत महिला हुने गरी आयोगले दलहरुलाई पत्र पठाउन लागेको हो ।
प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने पनि आयोग बताएको छ।