पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका छन्।
स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख र अस्थायी मुकामबारे नयाँ सरकारले नयाँ किसिमले निर्णय लिने बताए।
‘ढिलो गरी सरकारले आफ्नो काम गरेको छ, प्रदेश प्रमुखबारे धेरै कुरा थाहा पाएका छैनौं, नयाँ सरकारले अनुकुलता र आवश्यकता हेरेर निर्णय लिन्छ,’ ओलीले भने, ‘प्रदेश राजधानीका विषयमा पनि अहिले अल्झनु आवश्यक छैन। प्रदेश सभाले परिवर्तन गर्न सक्ने यो विषयमा अहिले नै आन्दोलन गर्नु हुँदैन।’
सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । ‘अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ,’ उनले भने।
उनले आफू बिरामी भएर उपचार गर्न नभई नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक गएको र सबै परीक्षणले स्वास्थ्यमा कुनै समस्या नभएको देखिएको बताए।
ओली अघिल्लो बुधबार उपचारका लागि बैंकक गएका थिए।