वाम गठबन्धन टुटाउन देशी-विदेशी शक्ति सक्रिय: नेता शाही


पूर्वमन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशी-विदेशी शक्तिको चलखेल बढेको बताएका छन्।

आइतबार  भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रूपमा नेपाललाई प्रयोग गर्न देशी विदेशी शक्ति लागेको बताउँदै उनले वामगठबन्धनको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताए।

पाँच वर्षसम्म वाम गठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नर्गन उनले आग्रह गरे।

उनले वर्तमान देउवा सरकारले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए।

अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संविधान विपरीत गएर काम गरिरहेको उनले बताए।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानको समेत उल्लंघन गर्ने काम गरेको उनको टिप्पणी छ।

उनले प्रदेश नं ६ को समग्र विकासका लागि आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताए। प्रदेश राजधानीका विषयमा ६ नम्बर प्रदेशमा कुनै विवाद नरहेको समते दाबी गरे।

छ नम्बर प्रदेशका लागि आफू मुख्यमन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुशलतापूर्वक निर्वाह गर्ने समेत बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.