मण्डेलालाई जेलबाट निकाल्ने क्लार्क भन्छन्- उनी धैर्य भएर सुन्थे, चेतनास्तर झल्किने गरी बोल्थे

एफ डब्लु क्लार्क र नेल्सन मण्डेला नोबले पुरस्कारका साथमा। तस्बिरः एपी


२७ वर्ष जेलमा बसिसकेपछि रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति एफ डब्लु डे क्लार्कले जेलमुक्त गरे। उनको स्वतन्त्रताले त्यसबेला विद्यमान सबै रंगभेदी कानुन संशोधन गर्‍यो जसमा अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) माथिको प्रतिबन्ध पनि सामेल थियो। नेल्सन मण्डेला अहिले विश्वका चर्चित, उदाहरणीय र सम्मानित व्यक्तित्व भइरहँदा उनलाई जेलमुक्त गर्ने रंगभेदी युगका अन्तिम राष्ट्रपति क्लार्कलाई धेरै कमले मात्र चिन्छन्।

डे क्लार्क ले १९८९ देखि १९९४ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपतिका रूपमा काम गरे। दक्षिण अफ्रिकाबाट जातीय विभेद हटाउँदै रंगभेद विरोधी कानुन अन्त्य गर्न भूमिका खेल्ने प्रमुख व्यक्तिका रूपमा उनलाई मानिन्छ। उनले देशलाई बहुजातीय प्रजातन्त्रको दिशा दिँदै सबै जनतालाई समान अवसर दिने बाटो खोलिदिएका थिए।

यतिमात्र हैन हामीले विश्व शान्ति पुरस्कार नेल्सन मण्डेलालाई दिइएको बुझेका छौं तर १९९३ को त्यो सम्मान मण्डेला र क्लार्क दुबैजनालाई संयुक्त रूपमा दिइएको थियो। धेरैले उनलाई परिवर्तनको उडान चिन्न सक्ने व्यवहारिक नेताका रूपमा मान्छन्। केहीले उनलाई सीप र लगाव भएका दूरदर्शी नेता मान्छन् जसले सम्भावित गृहयुद्ध रोक्न सफल भए।

नोबेल लरेटहरूको बारेमा बनिरहेको टेलिभिजन सिरिजको कामको लागि भर्खरै म दक्षिण अफ्रिका गएको थिएँ। यतिमात्र हैन हामीले विश्व शान्ति पुरस्कार नेल्सन मण्डेलालाई दिइएको बुझेका छौं तर १९९३ को त्यो सम्मान मण्डेला र क्लार्क दुबैजनालाई संयुक्त रूपमा दिइएको थियो।त्यो मौकामा उनै पूर्व राष्ट्रपतिसँग कुरा गर्ने र उनको देशले अहिले भोगिरहेको समस्याका बारेमा कुराकानी गर्ने अवसर पाएको छु। सँगै रंगभेद अन्त्य गर्न उनले खेलेको भूमिका, मण्डेलासँग उनको सम्बन्ध जस्ता पाटोलाई पनि छुने प्रयत्न गरेको छु। उनीसँग गरिएको रेकर्डेड अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

समय उपलब्ध गराइदिनुभएकोमा तपाईंलाई धन्यवाद। रंगभेद अन्त्य भएको १५ वर्षपछि दक्षिण अफ्रिका अहिले कहाँ छ? के जातीय भेदभाव पूर्व बाँडिएका सपना पूरा भए?

दक्षिण अफ्रिकामा नयाँ राजनैतिक व्यवस्था सुरु भएपछिका १५ वर्षमा फर्किएर हेर्दा सकारात्मक हुनुपर्ने धेरै कारण छन्। हामीले जे ल्याउने सोचेका थियौं त्यो पाउँदै छौं। तर यति हुँदाहुँदै पनि चिन्तित हुनुपर्ने ठाउँ नभएका हैनन्। सकारात्मक पाटोको कुरा गर्दा हामीले राम्रो संविधान बनाएका छौं। संविधानले दिएका अधिकारको मूल्य र मान्यता स्थापित गर्ने कानुन संशोधन गर्नुपरेको छैन।

विश्वव्यापी आर्थिक मन्दी समयमा बाहेक हाम्रो अर्थतन्त्र नियमित रूपमा बढिरहेको छ। हामीले ३ बाट बढाउँछौ भनेको आर्थिक वृद्धिदर ६ प्रतिशतमा हिँडिरहेको छ। दक्षिण अफ्रिकाका जनतामा ठूलो आशा कायम छ। कट्टरपन्थी समूहले जस्तो अभिव्यक्ति दिइरहे पनि काला हुन् वा गोरा, ठूलो सङ्ख्यामा बहुमत अफ्रिकनहरू देशले पाटो फेरेको हेर्न चाहन्छन्। पर्यटन पनि बढेको छ।

तर यति भन्दैमा सबैथोक ठीक भएको भने हैन। शिक्षा प्रणाली अहिले पनि सुधार हुन सकेको छैन। १९९४ भन्दा बरु घट्दै गइरहेको छ। अहिले पनि ४० प्रतिशतभन्दा धेरै काला अफ्रिकन बेरोजगार छन्। अपराध दर बढिरहेको छ र एड्सको समस्या घट्नुको साटो झनै कमजोर व्यवस्थापन भइरहेको छ। यी कुराहरू संविधानको लागि पनि ठूलो चुनौती हुन्। अफ्रिकन नेसनल कङ्ग्रेस पार्टी बेलाबेला कानुनमा हस्तक्षेप गर्न खोजिरहन्छ।

यदि संवैधानिक कानुनले नरोकेको भए त्यसले संविधानको मूल्य र मान्यतामाथि नै प्रश्न उठ्न सक्थ्यो। र यदि संवैधानिक बाटो बिरायौँ भने त्यसले हामीलाई साँच्चै नै गलत ठाउँमा पुर्‍याउनेछ। तर जे जस्तो भए पनि म भविष्यप्रति आशावादी छु। जे जस्तो समस्याहरू आएपनि त्यसलाई समाधान गर्न सक्षम छौं भन्ने मलाई विश्वास छ। हामीसँग अफ्रिकाको बलियो अर्थतन्त्र बन्न सक्ने क्षमता छ। त्यही क्षमताअनुसार अगाडि बढ्नेछौं भन्ने मलाई लाग्छ।

रंगभेद अन्त्य गर्न आफ्नो भूमिका कस्तो थियो जस्तो लाग्छ?

रंगभेद अन्त्यको कुरा गर्दा म आफूले त्यसलाई अन्त्य गरेको भन्ने सम्मान लिन चाहन्नँ। १९८० मै राष्ट्रिय पार्टीले अब हामीले आधारभूत परिवर्तन गर्नुपर्छ भन्ने स्वीकार गरिसकेको थियो। त्यसैले हामीले संवैधानिक समिति पनि निर्माण गरेका थियौं। म १९८९ मा राष्ट्रपति हुनुभन्दा पहिला नै यसमा काम गरेको थिएँ र दक्षिण अफ्रिकी नागरिकले पाउन सक्ने सम्भावित सबै राजनैतिक अधिकार प्रदान हुने गरी कसरी काम गर्ने प्रश्नमा धेरै काम गरेका थियौं।

अफ्रिकाका अन्य देशमा भएजस्तो निरङ्कुश राज्यव्यवस्था आउने र त्यसपछि असफल राष्ट्र बन्ने डर थियो। हामी त्यता जान चाहँदैन थियौ। त्यसैले परिवर्तनको आवश्यकता एकैपल्ट महसुस भएको नभई यो लामो प्रक्रियापछिको बुझाइ थियो। यो ८० को दशकमा भएको राष्ट्रिय पार्टीको विभाजनबाट अगाडि बढ्यो। राइट विङ टुक्रियो। त्यसले पछाडि नै बसेका हामी सबैलाई  परिवर्तन हुनुपर्छ र र त्यो परिवर्तन यस्तो हुनुपर्छ भन्ने जस्ता विषयमा केन्द्रित हुने बाटो खोलिदियो।

त्यसपछि राष्ट्रिय पार्टीको देशव्यापी भेला बोलायौं र नयाँ योजना तथा भिजन सार्वजनिक गर्‍यौं। त्यो नयाँ भिजन तयार गर्न मैले महत्त्वपूर्ण भूमिका खेलेँ। त्यसमा सबैखाले विभेदलाई लिखित रूपमा समाप्त पार्दै रंगभेद हटाउनुपर्छ र सबैलाई समान अधिकार प्रदान गर्ने दक्षिण अफ्रिका स्वीकार गर्नुपर्छ भनिएको थियो। अधिकारको प्रत्याभूति दिने बलियो संबिधान, शक्तिको गलत प्रयोग हुन नदिन सबै राज्यका शक्तिहरूबीच जाँच र सन्तुलन हुने गरी शक्ति पृथकीकरण, जुनसुकै रूपमा परिभाषित गरिएपनि कुनै पनि बहुमतले अल्पमत दबाउन नसक्ने दक्षिण अफ्रिकाको कल्पना गरिएको थियो।

म १९८९ मा राष्ट्रपति हुनासाथ कार्ययोजना बनाएँ र त्यसलाई कार्यान्वयन गर्ने गरी २ फेब्रुअरी १९९० मा सार्वजनिक घोषणा गरेँ। पछाडि फर्किएर हेर्दा गर्व के कुरामा लाग्छ भने एक राजनैतिक नेताको रूपमा मैले जे-जे प्रतिज्ञा गरेको थिएँ त्यो शक्तिमा आएपछि पूरा गरेँ। हामीले नयाँ सम्बिधान प्राप्त गर्यौं, अधिकार सम्बन्धी नयाँ कानुनहरू बने। जसले गर्दा सबैलाई न्याय दिने भिजन पूरा गर्ने बाटोमा देश हिँड्यो।

यदि तपाईं र नेल्सन मण्डेला त्यो समयमा सँगै नभएको भए दक्षिण अफ्रिकामा रंगभेद अन्त्य हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?

राष्ट्रिय पार्टीबाट केवल मैलेमात्र त्यो काम गर्न सक्थेँ भन्नु घमण्ड हुन आउँछ। पी डब्ल्यु बोथाले राजीनामा गरेपछि यदि मैले चुनाव हारेको भए र अरू कुनै उम्मेदवारले जितेका भए पनि यो काम गर्थे जस्तो लाग्छ। उनीहरू असल मानिस थिए र प्रतिस्पर्धा रूचाउँथे। र मलाई हराउने जो सुकै भएको भए पनि ऊभन्दा तल बसेर गर्नुपर्ने सहयोग र योगदान म गर्थेँ। मलाई के कुरामा विश्वास लाग्छ भने हिंसा र द्वन्द्वलाई साम्य पार्न व्यक्तित्वहरू महत्त्वपूर्ण हुन्छन्। र यो महत्त्वपूर्ण थियो कि त्यस बेला मण्डेला थिए र उनी त्यसबेलाको सरकार प्रमुखसँग मिलेर जान तयार थिए। त्यो सरकारप्रमुख म थिएँ।

त्यसबेला सरकारको तर्फबाट वार्ता गरेका रोल्फ मेयर र अफ्रिकन नेसनल कङ्ग्रेसका भाली मुसाको प्रयासलाई कम भन्न मिल्दैन। उनीहरूले आपसमा निर्माण गरेको समझदारी र सम्बन्ध निकै महत्त्वपूर्ण थियो। ती व्यक्तिगत सम्बन्धले अप्ठ्यारा अवस्थालाई पार लगाउँदै वार्ता कायम राख्न महत्त्वपूर्ण भूमिका खेले। दक्षिण अफ्रिकाको लागि अर्को भाग्यशाली कुरा के पनि छ भने फुट ल्याउने कयौँ प्रयास र षड्यन्त्रको बाबजुद पनि मण्डेला र मैले सँगै काम गर्‍यौं। हामी राजनैतिक रूपमा प्रतिपक्ष थियौं। तर वार्ता प्रक्रिया ढल्मल हुन लाग्दा त्यसलाई जोगाउन सँगै हात उठायौं। त्यसैले सायद अफ्रिकालाई डुब्न दिएन र हामी यो रूपमा यहाँसम्म आइपुग्न पायौं।

मण्डेलालाई पहिलोपल्ट भेट्दाको क्षण सम्झनुहुन्छ? तपाईंले सोचेभन्दा उनी फरक थिए कि थिएनन्?

उनलाई पहिलोपल्ट भेटेको क्षण अझै आँखामै छ। उनी कैदी नै थिए तर जेलमा थिएनन्। उनी भिक्टर भस्टर जेलको मैदानमा बनाइएको एउटा सानो घरमा बसिरहेका थिए। उनलाई कालो पट्टी बाँधेर केप टाउनस्थित मेरो अफिसमा ल्याइएको थियो जुन पछि उनको अफिस बन्यो। उनी मैले सोचेभन्दा अग्ला थिए। उनी जुन रूपले सिधा उभिएका थिए र उनका व्यक्तित्वमा जुन महानता देखिएको थियो त्यसले मलाई प्रभावित गर्‍यो। बोल्दाखेरि उनको चेतना स्तर झल्किन्थ्यो।

उनी पनि वकिल भइसकेका, म पनि वकिल भइसकेको व्यक्ति, सायद त्यसैले होला उनी र म बीचमा बडो सौहार्दपूर्ण कुराकानी भयो। उनी अरूको कुरा एकदमै धैर्य भएर सुन्थे। वकालतमा कुनै पनि निर्णयमा पुग्नुभन्दा पहिला अर्को पक्षले के भन्छ भन्ने कुरा राम्रोसँग सुन्नुपर्छ। हामी त्यो भेटमा केही पनि ठोस विषयमा छलफल गर्दै थिएनौं। बरु एक अर्कालाई जाँच गरिरहेका थियौं। त्यो भेट यस्तो भयो कि हामी दुवैलाई ‘मैले यो व्यक्तिलाई भेटेँ’ भन्ने कुरामा गर्व भएजस्तो। ‘यो मान्छेसँग म अगाडि बढ्न सक्छु’ भन्ने लागेजस्तो। त्यो कुरा हामी दुबैजनाले आफ्नो आत्मकथामा पनि लेखेका छौँ।

त्यो सम्बन्ध कसरी अगाडि बढ्यो? आफ्नो आत्मकथामा तपाईंले कुनै कुनै समयमा उनी आफूप्रति नकारात्मक रहेको जस्तो लागेको थियो भनेर लेख्नुभएको छ। समग्रमा भन्दा त्यत्रो वर्ष पर्खालभित्र बस्दा पनि उनले तपाईं र सामान्य गोरा जातिप्रति देखाएको भावनालाई लिएर अनौठो मान्नुभएन?  

मण्डेलाको बारेमा केही कुरा थप्छु। उनी र म बीच समस्या आएको भनेको दक्षिण अफ्रिकामा भइरहेको राजनैतिक हिंसाको कारणले थियो। पछि प्रमाण खोज्दा राज्यका सुरक्षा निकाय दोषी देखिएका थिए। तर त्यति मात्र हैन अफ्रिकन नेसनल काङ्ग्रेस भित्रै पनि समस्या थिए। त्यहाँ पनि हिंसा भड्काउन उद्धत समूह थिए। काला जातिबीचमै भएको हिंसाले त्यही सङ्केत गर्छ। क्वाजुलु नाटा प्रदेशमा त्यो समस्या धेरै थियो। एएनसीकै तत्वहरूको सहभागितामा इनकाथा फ्रिडम पार्टीका सदस्यको हत्या समेत भएको थियो।

त्यसरी भइरहेका हिंसामा आम मानिसले मलाई दोषी देखिरहेका थिए। तर त्यसमा मेरो केही हात थिएन। यसले मलाई धेरै दु:खी बनाएको थियो। त्यस्ता समस्याले वार्ता प्रक्रियालाई नकारात्मक असर पार्थे। तर मैले अगाडि भनेको जस्तो जब कुनै असामान्य सङ्कटले घेर्थ्यो, हामी त्यसलाई चिरेर अगाडि बढ्न समर्थ हुन्थ्यौँ। त्यो ठूलो कुरा थियो।

रंगभेदको अन्त्य काला जातिका लागि गरिएको थियो भनिन्छ। तपाईंको बिचारमा यसले गोरा जातिलाई चाहिँ के दियो? गोराहरूले केके पाए भन्ने हिसाबमा त हामी कहिल्यै कुरा गर्दैनौं हैन?

मलाई लाग्छ रंगभेद अन्त्य पछि गोराहरूले के पाए भन्ने विषयमा धेरै गलत बुझाइ छन्। यसले उनीहरूलाई माथिल्लो तहमा पुर्‍यायो भन्ने प्रश्न नै हैन। त्यसैले म कुनै पलको लागि पनि यो अस्वीकार गर्दिनँ कि उनीहरूले भौतिक वा आर्थिक रूपमा यसबाट केही पाए। तर सधैँ के कुरा भुलिन्छ भने रंगभेदको अन्त्य जसलाई हामी ‘अलग विकास’ भन्न रुचाउँछौ, त्यहाँ विकास सम्बन्धी नीति पनि थिए। १९४८ मा जब राष्ट्रिय पार्टी शक्तिमा आयो र ‘रंगभेद’ भन्ने शब्द जन्माएर त्यसै आधारमा रंगभेदी कानुन निर्माण गर्न थाल्यो।

त्यसबेला कालाहरूको लागि कुनै शिक्षा थिएन। उनीहरुको शिक्षा पूर्णरूपमा चर्चको हातमा थियो र थोरै प्रतिशत काला बच्चा मात्र स्कुल जान सक्थे। ८० को दशकमा हामी त्यो अवस्थामा पुग्यौं जहाँ सात वर्ष र सोभन्दा माथिका हरेक बच्चा स्कुल जान थाले र कम्तीमा १६ वर्षसम्म स्कुलमै अडिए। अलग विकास अन्तर्गत ३ काला विश्विविद्यालय स्थापना भए। यस्तै कालाहरूलाई व्यावसायिक तथा प्राविधिक शिक्षा पनि दिन थालियो। नयाँ नयाँ चिकित्सा सेवा थपिए। म भन्न के खोज्दै छु भने अलग विकास सँगै राज्यको आम्दानी ठूलो परिमाणले बढ्यो जसले विभिन्न विकास गतिविधि सञ्चालन गर्न सहयोग गर्‍यो। ती दुवैको हितमा थिए।

त्यस समयको ‘सत्य निरूपण तथा मेलमिलापको प्रयास’ लाई अत्याधिक सफल मानिन्छ। यसमा तपाईंको भनाइ के छ?

जब म राष्ट्रिय एकताको सरकारको उपराष्ट्रपति मध्ये एक थिएँ त्यसबेला मैले सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत न्यायपालिकालाई सहयोग गरेँ। आयोगको टिमसँग काम गर्‍यौं। यसले विभिन्न क्षेत्रमा राम्रो काम गर्‍यो। जसमा विभिन्न समयमा भएका अत्याचारमा तथ्य खोजी गर्ने र आममाफी प्रक्रिया अगाडि बढाउने र हिंसामा परेर आफन्त गुमाएका परिवार र साथीसम्म शान्ति पुर्‍याउने प्रयास मुख्य थियो। तर त्यसमा पनि अप्ठ्यारा नआएका होइनन्। उनीहरू निष्पक्ष भएर काम गर्न असफल पनि भएका छन्। उनीहरू सुरक्षाकर्मीले गरेको अन्याय र दमन खोज्नमा बढी केन्द्रित देखिए। जसकारण कालाले कालामाथि गरेको अन्याय र दमन छायामा पर्‍यो।

भूमिगत रूपमा एएनसीले गरेका विभिन्न मानव अधिकार उल्लंघनका घटना पनि उनीहरूका आँखामा परेनन्। उनीहरू इनकाथामा भएको ४०० जना स्वतन्त्रता पक्षधर नेताको हत्याको पूर्ण छानबिन गर्न असफल भए। सत्य निरूपण तथा मेलमिलाप आयोगको मुख्य ध्येय नै मेलमिलाप र शान्ति ल्याउनु थियो। तर त्यसमा महत्त्वपूर्ण असफलता कहाँनिर भयो भने उनीहरूको क्रियाकलाप मेलमिलापतर्फ लैजाने भन्दा पनि पुरानो घाउ कोट्याउनमा केन्द्रित देखियो।

तर यसो भन्दै गर्दा केही व्यक्तिगत घटनाबाहेक त्यसले धेरै हदसम्म मेलमिलाप प्राप्त गरेको छ। केही घटना छन् जसले सबैको आँखामा आँशु ल्याइदियो। हत्याराले मैले मारेको हुँ भन्ने स्वीकार गर्दा विधवाले मैले तिमीलाई माफ गरिँदिँए भन्ने सम्मका अवस्था आए। त्यो ठूलो सफलता थियो। यस्ता अवस्था धेरै थिए। तर ठूलो सङ्ख्यामा गोरालाई मात्र राजनैतिक अभियोग लगाइनुले केही हदसम्म सत्य निरूपण तथा मेलमिलाप आयोगको काममा पूर्वाग्रह देखिएको जस्तो लाग्छ।

रंगभेद हटाउने प्रक्रियामा अमेरिकाले लगाएको प्रतिबन्धले कसरी सहयोग गर्‍यो जस्तो लाग्छ?

उक्त प्रतिबन्धले हामीलाई आफ्नो ठाउँमा सीमित गरिदियो। हामीलाई महशुस भयो कि हामी एक्लिदैँ छौ। तर सबै भूमिका त्यसैले खेलेको हो म भन्दिनँ। मुख्य भूमिका अवस्थाप्रतिको हाम्रो सचेतनाले खेल्यो। त्यो प्रतिबन्ध वर्षसम्म सहन सक्थ्यौं। तर त्यसलाई उपभोग गर्न हामीले जान्यौं। त्यसैले प्रभिबन्धले भूमिका त खेल्यो तर ठूलो हैन।

तपाईंले एक पछिल्लो अन्तर्वार्तामा एएनसी विरुद्धको लँडाई रंगभेद कायम राख्न हैन कम्युनिस्टलाई रोक्न थियो भन्नुभएको छ। त्यसको बारेमा केही भन्न चाहनुहुन्छ?

मेरो बिचारमा केवल कम्युनिजमलाई रोक्ने प्रयास भएको हो, रंगभेद हटाउने प्रयास भएको हैन भन्नु उचित हुँदैन। हामी ती नेताहरूसँग ८० को दशकदेखि नै वार्ता गर्न चाहन्थ्यौं। उनीहरूले विभिन्न कारण देखाएर वार्ताको टेबलमा बस्न मानेनन्। ती कारण कुनै ठीक पनि थिए कुनै बेठीक पनि। बर्लिनको पर्खाल ढल्नुभन्दा पहिलासम्म उनीहरू सोभियत युनियनबाट पैसा लिइरहेका थिए। युनियनले उनीहरूलाई तालिम पनि दिएको थियो। उनीहरू पहिला पनि र अहिले पनि दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीसँग सहकार्यमा छन्। यो कुरा सबैलाई थाहा छ।

सत्य के हो भने एक समय हजारौं हजार क्युबेली सैनिक एंगोला र मोजाम्बिक पुगेका थिए। हामी त्यस्तो लँडाईमा थियौं जहाँ रसियाका युद्ध विमान हाम्रो एयर फोर्सविरुद्ध लडिरहेका थिए। तिनीहरूलाई रसियन पाइलटले नै उडाउँथे। उक्त कम्युनिस्ट रणनीति नै अफ्रिकन नेसनल कङ्ग्रेसलाई प्रयोग गरेर पुरै दक्षिणी अफ्रिकालाई आफ्नो मुठ्ठीमा बनाउने थियो। त्यसले उनीहरूलाई यहाँका प्राकृतिक स्रोत र खानीमा सिधै पहुँच दिन्थ्यो। कल्पनै नसक्ने यो विषय त्यो बेलाको तितो राजनैतिक सत्य थियो।

के तपाईं अहिले किन एएनसी स्वयम् कम्युनिस्टबाट मुक्त हुन चाहन्थ्यो भन्ने बुझ्नुहुन्छ? त्यस्ता प्रकारका चुनौतीले रंगभेद हटाउने अभियानलाई कति पर धकेल्यो?

उनीहरू सोभियत युनियन छोडेर अन्ततिर सहयोग किन खोजिरहेका थिए भन्ने म बुझ्छु। युनियनको उद्देश्य उनीहरूलाई पनि थाहा थियो। उनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दक्षिणी अफ्रिकामा प्रभाव चाहन्थे र त्यसलाई पाउने उनीहरूको प्रयासले अर्थपूर्ण वार्ता हुने धेरै सम्भावना टारिदियो। बर्लिनको पर्खाल ढलिसकेपछि र सोभियत युनियन टुक्रिएपछि भने मलाई वार्ताका विभिन्न प्रयास गर्ने ढोका खोलिदियो। त्यो ढोका अन्यथा खुल्ने थिएन। मैले एएनसीको सैन्य समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न र उनीहरूलाई दक्षिण अफ्रिका फर्काउन सक्ने थिइनँ। यदि अगाडि नै त्यो सबै गर्न सकेको भए र वार्ताको उचित वातावरण बनाउन सकेको भए धेरै जीवनहरू बचाउन सक्थ्यौं। एएनसी, सोभियत युनियन र चीनको भूमिकाले पक्कै पनि वार्तालाई ढिलो बनाएकै थियो।

अब अन्तिम प्रश्न। दक्षिण अफ्रिकाको राजनीति छाडेपछि तपाईंको जीवनको गन्तव्य के मा केन्द्रित भइरहेको छ?

१९९७ मा राजनैतिक जीवनबाट अवकाश लिएपछि मैले एफ डब्ल्यु डे क्लार्क फाउन्डेसन खोलेको छु जसले दक्षिण अफ्रिकाको संवैधानिक सर्वोच्चतालाई सम्मान गर्दै बहुसाँस्कृतिक समाजमा सुमधुर सम्बन्ध बनाउने काम गर्छ। यसै अन्तर्गतको ग्लोबल लिडरसिप फाउन्डेसनले पूर्व राष्ट्रपति, प्रधानमन्त्रीहरू र अन्य अधिकारीहरू सम्मिलित २८ सदस्यीय प्यानल बनाएको छ जसले विकास र राज्य व्यवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका देशका राष्ट्रिय नेताहरूलाई सल्लाह र सहयोग दिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.