प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने बताएका छन्।
धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफू राजीनामा दिन तयार रहे पनि राष्ट्रिय सभाको निर्वाचन वर्तमान सरकारले नै गर्नुपर्ने बाध्यता भएको बताए। ‘म सरकार छाड्न तयार छु, तर मैले चुनाव नगराई भएको छैन,’ उनले भने।
प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रिय हैसियत प्राप्त राजनीतिक दलहरु बीच सहमति गर्ने प्रयासमा सरकार लागि रहेको बताएका छन्। देउवाले सहमति नभए सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने बताए ।
‘सहमति होला जस्तो छैन। म काठमाडौं फर्केपछि पुनः सहमतिको प्रयास गर्छु, भएन भने सरकार आफैंले प्रदेश प्रमुख नियुक्तगर्छ,’ उनले भने, ‘अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भईरहेको छ।’
प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजे पनि अन्य दलहरुले नमानेको देउवाले बताए ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २५ गते तोकेको छ । एमाले बाहेकका दलहरु मिलेर सरकार बन्नसक्ने संभावना बारेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा जे पनि हुनसक्छ । तर मलाई केही थाहा छैन ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दिक्षान्त समारोहमा सहभागि हुनका लागि उपप्रधानम एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित प्रधानमन्त्री देउवा शुक्रबार नै महेन्द्रनगर गएका छन् ।