त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफियाको आरोप लगाउँदै अनसन घोषणा गरेपछि सर्वोच्च अदालतले उनी विरुद्ध अदालतको अवहेलना मुद्दा चलाएर वयान लिएको छ।
मंगलबार सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलास समक्ष सर्वोच्चकै एक कर्मचारीले केसीको वयान लिएका थिए। उनीसँग सर्वोच्चले १४ वटा सवाल जवाफ गरेको छ।
सेतोपाटीलाई उक्त सवाल जवाफको फोटो प्राप्त भएको छ। जसको पूर्णपाठ हामीले यहाँ जस्ताको तस्तै छापेका छौँ।
सवाल १: हजुरका बाजे बुवाको नाम थर, हजुरको नाम थर र पेशा व्यवसाय के गर्नुहुन्छ, खुलाइदिनुहोस्?
जवाफ - मेरो हजुरबुवाको नाम नरबहादुर, बुवा उदयबहादुर र मेरो नाम डाक्टर गोविन्द केसी हो। पेशाले म चिकित्सक हुँ, वर्ष ६१ को भएँ।
सवाल २ : हजुरको स्वास्थ्य स्थिति कस्तो छ? कुनै शारीरिक र मानसिक रोग छ छैन? आज इजलास समक्ष बयान दिन सक्नुहुन्छ या हुँदैन?
जवाफ : म हिजोदेखि अनशनमा रहेको हुँदा मुटुको धड्कन आफूलाई महसुस हुने बढेको छ। छाति दुखेको छ। अरु कुनै शारीरिक र मानसिक रोग छैन। बयान दिन सक्छु।
सवाल ३: तपाईँ आज यस सर्वोच्च अदालतमा किन उपस्थित भएको हो?
जवाफ : मलाई पक्राउ गरेर उपस्थित गराइएको छ। कुन कानुन अन्तर्गत के अपराधमा मलाई पक्राउ गरेर ल्याइएको हो, मलाई थाहा दिइएको छैन र पनि तपाईँले सोधेको प्रश्नको जवाफ दिन तयार छु।
सवाल ४: हजुरले आफ्नो कुनै कानुन ब्यवसायी यस मुद्दामा राख्नु भएको छ छैन?
जवाफ : छ।
सवाल ५: यस प्रतिवेदनमा पेश भएको समाचार सामाग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ, यो व्यहोरा तपाईको हो होइन ? तपाईले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईलाई लाग्छ लाग्दैन ? बताई दिनुहोस् ।
जवाफ : अनलाइन र सेतोपाटीलगायतका खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ र प्रेस विज्ञप्ति मिति २०७४।९।२४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुनेगरी अशिष्ट, अमर्यादित तवरले प्रकाशित गरेको होइन । अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरेजस्तो मलाई लाग्दैन ।
सवाल ६: तपाईँले के कति आधार र कारणबाट यस्तो अभिव्यक्ति दिनुभएको हो ?
जवाफ : श्री सर्वोच्च अदालतका समान्नित प्रधानन्यायाधीश श्री गोपालप्रसाद पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।
सवाल ७: तपाईले सवाल ६ को जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायालयको मानमर्दन भएको भन्नुभयो । यसको पुष्टि गर्ने आधारहरु केही छ ? खुलाई दिनुहोस् ।
जवाफ : यसमा मैले भन्नुपर्दा प्रेस विज्ञप्तिमा -पाना ४) उल्लेख भएका मुद्दाहरु नै मेरा आधार र कारण प्रष्ट्याउन पर्याप्त छन् । सो का अलावा पाना २ को मिति २०७४।९।२५ को दस्तावेजको विवरण पेश गरेको छु, त्यसले वास्तविकता प्रष्ट्याउनेछ । अनलाइनबाट प्राप्त ३ प्रति नागरिकता समेतको प्रतिलिपि पेश गरेको छु । सोलाई आधार मानी पाउँ । सो नागरिकता सम्माननीय प्रधानन्यायधीशको हो ।
सवाल ८: अदालतले संविधान कानून र न्यायका मान्य सिद्धान्त अनुसार न्याय सम्पादन गर्दछ भन्ने तपाईलाई थाहा छ छैन? अदालतको आदेश फैसला प्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजाय समेत हुन्छ भन्ने तपाईलाई थाहा छ छैन? खुलाई दिनुहोस्?
जवाफ : अदालतको अवहेलनामा सजाय हुन्छ भन्ने मलाई थाहा छ। सही न्यायसम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु। अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन।
सवाल ९: तपाईँले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायाधीश भनी उल्लेख गर्नु भएको छ। यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुने खालको हैन र? हजुरको यस्ता शब्दले अदालतको सम्मान हुन्छ?
जवाफ : यसको जवाफको लागि आधार र कारण सहितको कागजात ( नागरिकता सम्बन्धी) सवाल ७ मा पेस गरेको छु। त्यसैलाई आधार मानि पाउँ। गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा वोल्दा अदालतको अवहेलना होइन, सम्मान मिल्दछ।
सवाल १०: तपाईँले अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी अशिष्ट र लान्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुको कारण के हो? प्रष्ट पार्नु हुन्छ कि?
जवाफ : म अदालतप्रति सम्मान गर्दछु। मैले पेश गरेको प्रकरण ७ अर्थात जवाफमा पेश गरेको कागजात नै पर्याप्त छ। मैले भावनामा बगेर बोलेको होइन। मेरो प्रयासले अदालत जनमानसमा राम्रो प्रभाव परोस् भनी बोलेको हुँ। अशिष्ट र लान्छनायुक्त छैन।
सवाल ११: तपाईँ नागरिक समाजको अगुवा भन्नु हुन्छ, अदालतको आदेश वा फैसला उपर चित्त नबुझे सो उपर पुनरावेदन वा पुनरावलोकन गराउनेतर्फ तपाईँले के गर्नुभयो? के तपाईँले सोस्थित निकायमा अनुरोध गर्नु भयो?
जवाफ : म नागरिक समाजको अगुवा हुँ भनेर कहिले पनि भनेको छैन। म सामान्य सचेत नागरिक हुँ। म मुद्दाको पक्ष विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकन लगायतका कानुनी प्रक्रियामा जाने कुरा भएन। सचेत नागरिक भएकाले स्वस्थ आलोचना मात्र गरी अदालत लगायत समाजलाई घचघच्याएको हुँ।
सवाल १२: के तपाईँको चाहना अदालतको मुद्दामा तपाईँले नै भने बमोजिम फैसला हुनु पर्छ भन्ने हो? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनु भएको हो? खुलाई दिनुहोस्?
जवाफ : न्याय सम्पादन राम्रो हुनुपर्दछ। मेरो पक्षमा मात्र फैसला हुनुपर्दछ भनी मैले भन्न खोजेको होइन।न्यायमा बिकृतिहरु भित्रिएको देखेर शुद्धीकरणका लागि बोलेको हुँ। सही फैसला आएको भए आलोचना गर्नु पर्ने थिएन।फैसलाको आलोचना गर्नु अदातलको अवहेलना होइन।
सवाल १३:मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु महत्त्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिका अमुख मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनु हुँदैन भन्ने दायित्व बोध तपाईलाई छ छैन?
जवाफ: मुलुक, लोकतन्त्र र बिधिको शासन स्थापित गराउनु नै मेरो प्रयास हो। मैले दिएका अभिव्यक्ति अनर्गल होइन। तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्ने गरी संविधान प्रदत्त स्वास्थ रहेर जिउन पाउने नैसर्गिक अधिकार हनन् हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ। मैले न्यायपालिका बिरुद्ध बोलेको होइन। लोकतन्त्र र बिधिको शासन स्थापित गराउनु नै मेरो अभिव्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो।
सवाल १४: यस सवाल १ देखि १४ सम्म पढी सुनाइन्छ कि यस बिषयमा तपाईँले अरु केहि भन्नु छ कि?
जवाफ: मेडिकल कलेज सम्बन्धि सुधारका लागि मैले बिगत डेढ दशक देखि गर्दै आएको प्रयास हो। स्वास्थ्य र चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलन जारि राखेको छु। स्वास्थ्य र चिकित्सामा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाहरुले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखेर मैले प्रेस विज्ञप्ति समेत निकाली अनसन बस्नु परेको हो। यो बयानका क्रममा समेत अनसनमा छु। मलाई सुधारको प्रयास गर्दा गर्दै यसरी एक्कासी प्रहरीको सहयोग लिई अदालत समक्ष बयानका लागि ल्याइएको छ।यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा बिकृति विसंगति आई तीन करोड नेपालीको जिउ धनप्रति खेलवाड भइरहेकाले त्यस्तो आदेश गर्ने न्यायाधीशबिरुद्ध लड्नु मेरो कर्तब्य हो। न्यायालय बिरुद्ध होइन। गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिनसक्नु पर्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निष्पक्ष ढंगले संचालन गर्नु पर्नेमा आदर्शवादी अनुकरणीय व्यक्ति हुनु पर्नेमा नागरिक्ता सम्बन्धी विवाद, उमेर सम्बन्धी विवाद, शैक्षिक सम्बन्धी विवाद, चूडामणि सम्बन्धी राजश्व छली, आयल निगम, एनसेल, भू-माफिया र नाताबाद सम्बन्धि लगायतका क्रियाकलापहरुले न्यायपालिकाको आस्था गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निज उपर अदालतको अवहेलनाको कारवाही हुनु पर्ने हो। म उपर लगाएको आरोप झुट्टा हो। मैले अदालतको अवहेलना गरेको छैन। निज सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा लाई कारवाही गरे न्यायालयको गरिमा वृद्धि हुन्छ। अदालत जनताको आस्थाको केन्द्र बन्छ।