एकताको अजेण्डा माओवादीका तीन नेताले तय गर्ने, एमाले स्थायी समिति बस्दै

फाइल तस्बिर।


नेकपा माओवादी केन्द्रका तीन नेताले पार्टी एकताका अजेण्डा तय गर्ने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ले पार्टी एकताको अजेण्डा तय गर्न लागेका हुन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले एकताका विषयमा दुवै पार्टीले आन्तरिक छलफल गर्ने बताएका थिए। माओवादी नेता नारायणकाजी श्रेष्ठले सोमबार दिउँसो तीन नेताबीच छलफल हुन लागेको सेतोपाटीलाई जानकारी दिए।

दुवै पार्टी अध्यक्षबीच आइतबार पार्टीको संगठनात्मक स्वरूप र सैद्धान्तिक आधार तय गर्न कार्यदल गठन गर्ने समझदारी भएको थियो।

पार्टी एकतामा छलफल गर्न एमालेको स्थायी समिति बैठक आजै बस्दै छ। दिउँसो २ बजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी समिति बैठक बस्न लागेको हो। एमाले सचिव प्रदीप ज्ञवालीले बैठकमा पार्टी एकताका विषयमा ठोस छलफल हुने बताए।

ओली र प्रचण्डबीच दुवै दलको आन्तरिक छलफलपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्ने समझदारी भएको छ। बुधाबार एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि थाइल्याण्ड जाँदैछन्। थाइल्याण्ड जानुअघि मंगलबार बैठक गर्न दुई नेताबीच समझदारी भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.