गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बाम गठबन्धन बाहिरबाट प्रधानमन्त्री नबन्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले निर्वाचनले पार्टी एकताको अनुमोदन गरेको समेत बताए।

‘गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन’, प्रचण्डले भने, ‘हामीले गठबन्धन गरेर निर्वाचन गर्‍यौँ। पार्टी एकताको संकल्प गरेर निर्वाचन गर्‍यौँ। जनताको अनुमोदन त्यसकै निम्ती हो।’

प्रचण्ड आफैँले माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा केही दिन अघि गरेका थिए।

उनले सरकार निर्माणमा कुनै बाधा नरहेको समेत बताए।

‘मतपरिणाम सार्वजनिक गर्न कानुनका केही व्यवस्थाले ढिलाई  भएको हो’, प्रचण्डले भने, ‘सरकार गठनमा बाधा छैन। प्रक्रियामा गएको छ।’

उनले पार्टी एकताका विषयमा समेत छलफल चलिरहेको दावी गरे। तर केहि दिन यता प्राविधिक कारणले मात्र ढिला भइरहेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.