काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमानले बुझाए निर्वाचन खर्च,कुन शीर्षकमा कति? (विवरणसहित)


नेपाली  कांग्रसका नेता तथा  काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा रवीन्द्र मिश्रलाई पराजित गर्दै विजयी बनेका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचन खर्च बुझाएका छन् ।

बुधबार उनले १७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन्।

उनले आयोगले तोकेकोभन्दा कम निर्वाचनमा खर्च गरेका छन्।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

उनले बुझाएको निर्वाचन खर्च विवरण अनुसार मतदाता नामावली खरीदमा १ हजार रुपैयाँ, सवारी र घोडामा दुई लाख ७० हजार रुपैयाँ, इन्धन र दानामा ९० हजार रुपैयाँ, प्रचार सामग्रीमा ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यसैगरी, गोष्ठी र कार्यकर्ता परिचालनमा ७ लाख रुपैयाँ, सञ्चारमाध्यमबाट प्रचारप्रसारमा ९० हजार रुपैयाँ, कार्यालय सञ्चालनमा तीन लाख ५० हजार रुपैयाँ, प्रतिनिधि परिचालनमा १ लाख  १० हजार रुपैयाँ र विविध शीर्षकमा ३९ हजार ५ सय रुपैयाँ खर्च गरेको उल्लेख छ ।

उनी  ८ सय १८ मतअन्तरले विजयी भएका थिए। उनले  १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए भने विवेकशील साझाका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.