ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भैसक्यो, जबज छोडेर माओवादी केन्द्रसँग एकता गरिँदैन : महासेठ


नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरूको षड्यन्त्र सुरू भएको आरोप लगाएका छन्।

मंगलबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने,‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’

साक्षात्कारमा बोल्दै उनले जनताको पहिलो रोजाइमा ओली नै परेको जिकिर गरे। उनले भने,‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरू सुरू भएका छन्।’ निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरता राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरूले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरू भएको उनको आरोप थियो।

धनुषा ४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले अहिले देशी तथा विदेशी शक्तिहरूले ओलीको नेतृत्वमा सरकार बन्नु हुँदैन भनेर षड्यन्त्र सुरू गरेको गम्भीर आरोप लगाए। षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो।

महासेठले भने,‘अहिले प्रत्यक्ष रूपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भैसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ।’ उनले संविधानको धारा ७६ मा सबै कुरा स्पष्टसँग लेखिएको भन्दै उक्त धारलाई गलत रूपमा व्याख्या नगर्न आयोगको ध्यानाकार्षण समेत गराए।

त्यस्तै, उनले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै भने,‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको छ, यो पनि समय लम्ब्याउने खेल हो।’ उनले आयोगले देखादेख संविधानको धज्जी उडाएको समेत आरोप लगाए । उनले भने,‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरू भएको छ, तर यो खेल सफल हुन दिँदैनौं।’

एमाले–माओवादी केन्द्रबीचको एकता अब कसैले चाहेर पनि नरोकिने उनको जिकिर थियो। उनले थपे,‘एकता हुन्छ, तर जनताको बहुदलीय जनवादको आधारमा नै हुन्छ, हामी जवज छोडेर एकता गर्ने पक्षमा छैनौं, माओवादी केन्द्रका नेताहरूले पनि जवजको लाईन आत्मसात् गरिसक्नुभएको छ।’ उनले प्रचण्ड प्रधानमन्त्री बनेपनि आफूहरूलाई कुनै आपत्ति नहुने धारणा राखे ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.