बाम गठबन्धनका युवा तथा विद्यार्थी संगठनहरुले नयाँ सरकार गठन हुन नदिन निर्वाचन आयोग आफैंले षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
एमाले आवद्ध युवा संघ, नेपाल र अनेरास्ववियू तथा माओवादी केन्दआवद्ध वाईसियल, नेपाल र अखिल क्रान्तिकारीले सोमबार निर्वाचन आयोगका पदाधिकारीलाई ज्ञापन पत्र बुझाउँदै नयाँ सरकार गठन हुन नदिन निर्वाचन आयोग आफै लागि परेको गम्भिर आरोप लगाएका हुन्।
त्यस अवसरमा उनीहरुले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम तत्काल घोषणा नगरे निर्वाचन आयोगविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन्। नयाँ सरकार गठन हुन नदिन निर्वाचन आयोग आफैं लागि परेको आशंका उत्पन्न भएको अनेरास्ववियूकी अध्यक्ष नविना लामाले बताइन्।
उनले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम तत्काल सार्वजनिक गरेर नयाँ सरकार गठन गर्ने मार्ग प्रशस्त गर्न पनि निर्वाचन आयोगसँग माग गरिन्।
वाईसियलका अध्यक्ष रामप्रसाद सापकोटाले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक गरेर नयाँ सरकार गठन हुने मार्ग प्रशष्त नगरे निर्वाचन आयोग विरुद्ध कडाभन्दा कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिए।
बाम गठबन्धनका युवा तथा विद्यार्थी संगठनहरुले संविधानको मर्म र भावना अनुसार पनि निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नुअघि नै प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचनको मत परिणाम सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनीहरुले राष्ट्रिय सभाको निर्वाचन नभई निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक नगर्ने निर्वाचन आयोगको अडानप्रति आपत्ति जनाएका छन्।