चिया पिएर छुट्टिएका ओली-प्रचण्डको भेटको अझै तारतम्य मिलेन

फाइल तस्बिर।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता र सरकार निर्माणबारे हुने भनिएको छलफलको टुंगो लाग्न सकेको छैन।

बालुवाटारमा गत शुक्रबार चिया खाएर छुट्टिएका दुई नेताको भेटको अझै तारतम्य मिल्न नसकेको हो।

शुक्रबार बिहान प्रधानमन्त्री निवासमा पाँच राष्ट्रिय पार्टीको बैठकपछि दुई नेताले निवास बाहिर आएर सँगै चिया पिएका थिए।

चिया पिएलगत्तै सोही दिन प्रचण्ड चितवन प्रस्थान गरेका थिए। प्रचण्ड चितवन लागेपछि शनिबारको एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन। प्रचण्ड मंगलबार मात्र राजधानी फर्किएका हुन्। मंगलबार नै दुई नेताबीच छलफल हुने बताइएको थियो। तर, साँझसम्म दुई नेताबीच कुराकानी हुन सकेन।

प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले आज पनि भेटको टुंगो  नलागेको बताए। ‘पार्टीकै नेताहरूसँग अनौपचारिक छलफलमा हुनुहुन्छ’, महराले भने, ‘भेटको टुंगो छैन।’

प्रचण्ड आफ्नै निवासमा नेताहरूसँग अनौपचारिक छलफलमा रहेको महराले बताए। प्रचण्डकै प्रेस संयोजक मनहरी तिमल्सीनाले भने आज भेटको तयारी भइरहेको बताए। ‘सम्भवत आज भेट हुन्छ’, तिमल्सीनाले भने, ‘समय र स्थान टुंगो लागेको छैन’ दुई नेताको भेटपछि दुई पार्टीको एकता संयोजन समितिको बैठक बस्ने तयारी छ।

निर्वाचन सम्पन्न भएपछि दुई पार्टी एकताका लागि गठित समितिको बैठक बस्न सकेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.