काठमाडौं फर्किए प्रचण्ड, ओलीसँग भएन भेट

फाइल तस्बिर


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं फर्किएका छन्। उनी गत शुक्रबार चितवन गएका थिए।

नेकपा एमालेसँगको एकता प्रक्रिया, सरकार गठन र राष्ट्रिय सभाको गाँठो फुकाउन छाडेर चितवन पुगेका प्रचण्ड उतै सानातिना कार्यक्रममा अल्झिएका थिए। उनी राजधानी नआउँदा दुई पार्टीको एकता प्रक्रिया र सरकार गठनमा समेत संशय पैदा भएको थियो।

प्रचण्ड आज फर्किएपनि एमाले अध्यक्ष ओलीसँग भने भेट गरेनन्। दुई अध्यक्षको भेट पछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने एमाले नेता विष्णु रिमालले बताएका थिए। निर्वाचन पछि दुई पार्टीको एकताका लागि गठन भएको एकता संयोजन समितिको बैठक  बस्न सकेको छैन।

प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सीनाले प्रचण्ड काठमाडौं फर्किएपनि कुनै राजनीतिक भेटघाट नगरेको सेतोपाटीलाई बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय स्रोतले प्रचण्ड चितवन गए यता कुनै माओवादी नेतासँग प्रचण्डले छलफल नगरेको जनाएको छ। दुई पार्टीका नेताबीच हुने भेटलाई चासोका साथ हेरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.