सरकार गठनभन्दा पहिले पार्टी एकता : मन्त्री पोखरेल


बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन्।

मोरङमा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारे।

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गरे। निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गरे।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरू मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरूकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिए।

मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.