प्रचण्ड ३ बजे राजधानी फर्कने, लगत्तै ओलीसँग ‘वान टू वान’ छलफल

फाइल तस्बिर।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ बजे मात्र काठमाडौं फर्कने भएका छन्।

गत शुक्रबार चितवन प्रस्थान गरेका ‘प्रचण्ड’ उतैका साना तिना कार्यक्रममा अल्झिएका थिए। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित एकता संयोजन समितिको गत शनिबार बस्ने भनिएको बैठक प्रचण्डको अनुपस्थितिमा अझै बस्न सकेको छैन।

निर्वाचनपछि एकपटक पनि दुई पार्टीको बैठक बसेको छैन। ‘प्रचण्ड’ले चितवनबाट फर्किए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टू वान’ छलफल गर्ने कार्यक्रम छ। ‘प्रचण्ड’का प्रेस संयोजक मनहरी तिमल्सिनाले ओलीसँगको छलफलपछि मात्र पार्टी एकता संयोजन समितिको बैठकबारे टुङ्गो लाग्ने बताए।

‘प्रचण्ड’ले राजधानी बाहिर रहँदा दिएका अभिव्यक्तिका कारण एमालेभित्र संशय पैदा भएको छ। ‘प्रचण्ड’ले चितवनमा सरकारमा आलोपालो नेतृत्वको सहमति भएको बताएका थिए। त्यस्तै, राष्ट्रिय सभामा कांग्रेसको आवश्यकता रहेको बताउँदै एकल संक्रमणीय निर्वाचन प्रणालीमा लचकता देखाएका थिए।

प्रचण्ड रओलीबीच आज हुने बैठक सर्वाधिक चासोको साथ हेरिएको छ।

एमाले र माओवादीका कतिपय नेताले पार्टी एकतामा कुनै समस्या नरहेको बताएका छन्। केही दिनमै गठबन्धन सरकार र दुई पार्टीबीच एकताको खाका बाहिर आउने उनीहरूले दाबी गरेका छन्। कतिपय नेताले भने दुवै पार्टीको शीर्ष नेतृत्व एकअर्कासँग टाढिइसकेको र संयुक्त सरकार तथा पार्टी एकताको सम्भावना पनि टाढिँदै गएको टिप्पणी गरेका छन्।

दाहाल मंगलबार चितवनबाट काठमाडौं फर्केपछि बस्ने भनिएको दुई पार्टी संयोजन समिति बैठकले यी अड्कलबाजीबारे थप संकेत गर्नेछ। उनले सरकार गठन र पार्टी एकतामा आफूलाई सजिलो होस् भनेर एमालेमाथि दबाब बढाउन मात्र यसरी बाहिर बोलेका हुन् वा एमालेसँग बाटो अलग गर्ने पृष्ठभूमि तयार पार्न खोजेका हुन् भन्ने प्रस्ट हुनेछ।

एमाले नेता विष्णु रिमालले दाहाल काठमाडौं फर्किएपछि दुई शीर्ष नेताबीच आजै छलफल हुने सम्भावना रहेको बताए।अोलीका स्वकीय सचिव  राजेश बज्रचार्यले भने दुई नेताबीच बैठक अझै टुंगो लागिनसकेको बताए। उनले भने, ‘वहाँ आजै अाउँदै हो र? बैठकको टुंगो त भएको छैन।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.