एमालेसँग सरकार निर्माणबारे छलफल भएको छैन-उपेन्द्र यादव

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे मात्र छलफल

फाइल तस्बिर।


उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नभएको स्पष्ट पारेको छ।

फोरम अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एकपटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पारेका छन्।

उनले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएकोमा असन्तुष्टि  व्यक्त गरे।

न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको  बताए। उनले आफूहरूको माग अनुसार संविधान संशोधन नभई आफ्नो पार्टी सरकारमा जाने अवस्था नरहेको अडान पनि दोहोर्‍याए। अध्यक्ष यादवले वाम गठबन्धनलाई बहुमत प्राप्त भएकाले सरकार गठन गरेर अघि बढ्न सुझाव दिए।

अध्यक्ष यादवले ३ ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको आरोप लगाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.