जनमतको अवमूल्यन नगर्न वाम गठबन्धनको सरकारलाई आग्रह (संयुक्त विज्ञप्तिसहित)


नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गर्दै त्यसका लागि मार्ग प्रसस्त गर्न सुझाएका छन्।

संयुक्त पत्रकार सम्मेलनपछि जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस्तो छ

 

प्रेस वक्तव्य

२०७४ मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्याधिक वहुमतका साथ निर्वाचित गर्नुु हुने दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरुका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक  राजनीतिक दलहरु,उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुलाई हार्दिक वधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौं ।

त्यसैगरी आ–आफ्नो आस्था एवं विश्वासको आधारामा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चार माध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौं । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौं ।

हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौं । नेपाली समाजमा विद्यामान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पिडन विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौं । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेका छौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौं । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायीत्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सवल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतीको रुपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता,एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यवहारिक रुपमा सार्थक तुल्याउन  प्रतिवद्ध छौं । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र,विशेषतः छिमेकी देशहरु त्था अन्तराष्ट्रिय संघ,संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं ।

यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौं र यस निर्वाचनमा आपसी तालमेल गरेका हौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासील गर्न प्रतिवद्ध छौं । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौं ।

हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौं र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गर्दछौं । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौं ।

निर्वाचन परिणाम प्रकाशित भए पश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र कृयाकलापहरु नेपालको संविधान, अन्तराष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौं ।

केपी शर्मा ओली                                                                                  पुष्पकमल दाहाल प्रचण्ड

अध्यक्ष                                                                                                   अध्यक्ष

नेकपा (एमाले)                                                                                     नेकपा (माओवादी केन्द्र)

 

मिति ः २०७४ पुष २ गते

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.