प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको पनि मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ।
अन्तिम मत परिणाममा ३१ लाख ७३ हजार ४९४ मत सहित नेकपा एमाले पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ तेस्रो भएको नेपाली कांग्रेस समानुपातिक मतगणनामा दोस्रो दल भएको छ। उसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ। एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ। यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ।
चौथो स्थानमा आएको राजपाले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन्।
यी पाँच पार्टीबाहेक अन्य कुनै पनि पार्टीले संविधान अनुसार ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न सकेनन्।
यद्यपी विवेकशील साझा पार्टीले राप्रपा र नयाँ शक्तिभन्दा बढी २ लाख १२ हजार ३ सय ६३ मत पाएको छ। राप्रपाले १ लाख ९६ हजार ७ सय ८२ मत पाएका छन्।
राप्रपाबाट छुट्टिएको राप्रपा प्रजातान्त्रिकले पनि ८८ हजार ३ सय ७७ मत पाएको छ भने नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन्।
जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतमा अहिले आयोग केन्द्रीय कार्यालयको टिमबाट भेरिफाइ भइरहेको छ।
भेरिफाइ सकिएपछि मात्र आयोगले औपचारिक रुपमा अन्तिम मतपरिणाम घोषणा गर्नेछ।
प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ। कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरूले समानुपातिक सिट पाउदैनन्।
यदि यही मतनै आयोगले भेरिफाइ गरेर आधिकारिक मान्ने हो भने पाँच दलले मात्र सिट पाउनेछन्। एमालेले सबैभन्दा बढी ४१ सिट पाउँछ भने कांग्रेसले १ सिट कम ४० सिट पाउनेछ।
माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन्।
नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन।
यस्तै दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट ल्याएर संसदमा चौधो ठूलो दल बनेको राप्रपाले थ्रेस होल्ड पार गर्न सकेन।
पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपाले पनि तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेनन्।
कुन दलले कति सिट पाउँछन्नयाँ संविधान अनुसार १६५ सदस्यीय प्रतिनिधिसभाका लागि पाँच दल मात्र राष्ट्रिय दल बनेका छन्।
- नेकपा एमाले - ८०+ ४१=१२१
- नेपाली कांग्रेस- २३+४०= ६३
- माओवादी केन्द्र- ३६+ १७= ५३
- राजपा- ११+ ६= १७
- संघीय समाजवादी फोरम- १०+६= १६
- राप्रपा- १
- नयाँ शक्ति-१
- राष्ट्रिय जनमोर्चा-१
- नेमकिपा- १
- स्वतन्त्र- १
समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल (राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेमकिपा र स्वतन्त्र) प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन्।