हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेको राप्रपाले निर्वाचन परिणाम अकल्पनिय एवम् निराशाजनक भएको निष्कर्ष निकालेको छ।
अध्यक्ष कमल थापाले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले हार बेहोरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै यो निर्वाचन परिणाम राप्रपाका निमित्त अत्यन्त निरशाजनक रहेको भन्दै जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले हार्दिकताका साथ शिरोधार्य गर्ने प्रष्ट पारेका छन् ।
अध्यक्ष थापाले निर्वाचन परिणामपछि पार्टीका कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुलाई दुःख र चिन्ता लाग्नु स्वभाविक भएको भन्दै निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको र त्यसवारेमा केन्द्रिय कार्यसमितिले बिस्तृत अध्ययन अनुसन्धान गर्ने बताएका छन्।
‘पार्टीको वैचारिक पक्ष एवम् कार्यशैलीमा समेत पुनर्समिक्षा र सुधार गर्नु पर्ने टड्कारो आबश्यकता देखिएको छ । तथापि पार्टी कार्यकताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो । अब के गर्ने यसबारे हामी गम्भिरताका साथ बिचार गर्ने नै छौ’ विज्ञप्तिमा भनेका छन् ।
उनले चिन्ता र पीडाको घडिमा बिचलित नभई पार्टीको आदर्श र मान्यताप्रति प्रतिबद्ध रहंदै एकता कायम राख्न नेता कार्यकर्तालाई थापाले अपिल गरेका छन् । उनले नयाँ संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट बिचार बोकेको राष्ट्रवादी पार्टीको रुपमा स्थापित राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको नभएको र नहुने जिकिर पनि गरेका छन् ।
प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकतर्फको कुनै सिट नपाउने भएको छ।
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ।
समानुपातिक मत गणनाबाट देशैभर आएको मतमा एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याएका छन्।
यो पनि हेर्नुहोस्-
लिङ्देनले राप्रपा छोड्न सक्छन्?समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ।
३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ।
प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्याए मात्र राष्ट्रिय पार्टी बन्न सक्थ्यो तर उसले हालै स्थापना भएको र प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टी भन्दा कम मत २.२ प्रतिशत पाएको छ।
राप्रपाले समानुपातिकमा १ लाख ९३ हजार ८५१ मत पाएको छ।
अघिल्लो संविधानसभाको निर्वाचनमा साढे ६ प्रतिशत मत ल्याएको राप्रपा यसपालि त्यसको एक तिहाइमा खुम्चिएको छ।समानुपातिकतर्फ ३ प्रतिशत मत नपाएपछि पार्टीले देशभर पाएको करिब २ प्रतिशत मतको कुनै अर्थ हुनेछैन।
राप्रपाबाट झापा ३ मा कांग्रेसका कृष्ण सिटौलालाई हराएका राजेन्द्र लिङ्देन अब संसदमा स्वतन्त्र हैसियतमा प्रतिनिधत्व गर्ने भएका छन्।