प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ।
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ।
शुक्रबार बिहान साढे १० बजेसम्म ८८९२२५४ मत गणना भएको छ। आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो।
गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने देखिन्छ।
समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन्।
गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ। समानुपातिकतर्फ ४/५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ। समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन।
३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ।
समानुपातिकमा ३ प्रतिशत नकटाउने दलले एउटा पनि सिट पाउनेछैनन्।
प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्याए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ। प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्याएमा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन।
प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतभन्दा तल देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउनेछैनन्।
अहिलेसम्मको गणनामा एमालेले ३० लाख कटाउँदा कांग्रेसले २९ लाख ३१ हजार पुर्याएको छ। माओवादीले १२ लाख पुर्याउँदा चौथोमा रहेको संघीय समाजवादी फोरमले ४ लाख २५ हजार कटाएको छ। यस्तै राजपाले ३ लाख ९७ हजार पुर्याउँदा विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ।
यस्तै राप्रपाले १ लाख ८९ हजार पाएको छ भने नयाँ शक्तिले ७६ हजार मत पाएको छ।