आगामी सरकारको नेतृत्व ओलीले गर्ने-ईश्वर पोखरेल


नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताएका छन्।

बुधबार आयोजित भएको एक अन्तरक्रियामा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महासचिव पोखरेलले   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक अभिव्यक्ति दिएकाले सरकारको नेतृत्व ओलीले नै गर्ने स्पष्ट पारे।

महासचिव पोखरेलले सरकार गठन प्रक्रिया गठबन्धनभित्र समझदारी गरेरै अघि बढ्ने बताए। उनले मुलुकको आवश्यकता सम्बोधन गर्न सक्ने योग्यता भएकाहरूलाई मात्रै सरकारमा पठाइने उल्लेख गरे। वाम गठबन्धनको साझा घोषणा पत्र अनुसार काम गर्न सक्ने योग्यता बोकेकाहरूलाई सरकारमा पठाउँदा मात्रै मुलुकको आवश्यकता सम्बोधन हुने महासचिव पोखरेलको भनाई छ ।

महासचिव पोखरेलले निर्वाचनको सबै परिणाम सार्वजनिक भएलगत्तै पार्टी एकता प्रक्रिया अघि बढ्ने दाबी गरे। उनले विचार र बाटो मिलेकाले माओवादी केन्द्रसँग पार्टी एकता गरेर अघि बढ्ने सहमति गरिएको  स्पष्ट पारे। पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका महासचिव पोखरेलले माओवादी केन्द्रसँगको पार्टी एकता मुलुकको आवश्यकता भएको तर्क गरे।

महासचिव पोखरेलले सरकार काम चलाउमा सिमित भइसकेको उल्लेख गर्दै प्रदेश प्रमुखलगायतका कुनै पनि राजनीतिक नियुक्ति नगर्न पनि पुनः दबाब दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.