काठमाडौंबाट विवेकशील साझाका क-कसको जमानत जफत भयो?


विवेकशील साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंबाट सबैभन्दा धेरै उम्मेद्वार उठाएको थियो।

काठमाडौं क्षेत्र नम्बर १ मा संयोजक रविन्द्र मिश्र नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए। तर बाँकी ९ स्थान मध्ये काठमाडौं क्षेत्र नम्बर २, ५, ६, ७, ८ र  क्षेत्र नम्बर ९ मा जमानत बचाउन सफल भएको छ।

प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० का उम्मेदवारको जमानत जफत भएको छ।

जमानत जफत हुनेमा क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार गगन थापासँग चुनाव लडेकी सुबुना बस्नेत, क्षेत्र नम्बर ३ बाट सुमित्रा सिंह लामा र क्षेत्र नम्बर १० बाट प्रदीप ढकाल छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार खसेको सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्थ्यो।

अर्थात यो क्षेत्रबाट खसेको सदर मत ४४५८९ को १० प्रतिशत ४४ सय बढी मत ल्याउनपर्थ्यो तर उनले ३०४० मत मात्र ल्याउन सकिन्। सुबुनाले कुल सदर मतमध्ये जम्मा ६ दशमलव ८१ प्रतिशत मत मात्र प्राप्त गरेकी छिन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ३ का विवेकशीलकी उम्मेदवार सुमित्रा सिंह लामाको पनि जमानत जफत भएको छ।

सिंहले जम्मा ५ दशमलव ६५ प्रतिशत मत प्राप्त गरेकी छिन्। यो क्षेत्रमा खसेको मतमध्ये ३९ हजार ३ मत सदर मत छ। जसमा सिंहले २२ सय ५ मत ल्याएकी छिन्। उक्त क्षेत्रमा ५३ हजार ८ सय २४ मतदाता छन्।

उक्त क्षेत्रका विजयी उम्मेदवार नेकपा एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत ल्याएका छन्।

यस्तै काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेद्वारी दिएका प्रदीप ढकालको पनि जमानत जफत भएको छ। विवेकशीलका ढकालले जम्मा ३ दशमलव ६३ प्रतिशत मत ल्याएका छन्। सदर भएको कुल ५५ हजार ११० मत मध्ये ढकालले २ हजार ३ मत ल्याएका छन्। उक्त क्षेत्रमा ७१ हजार २ सय १ मतदाता छन्। उक्त क्षेत्रका विजयी उम्मेदवार कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका थिए।

यस्तै प्रदेश सभातर्फ पनि काठमाडौं क्षेत्र नम्बर २ ख मा उम्मेद्वार दिएका केशव पौडेलको जमानत जफत भएको छ। उक्त क्षेत्रमा खसेको सदर मत ३२ हजार ८ सय ७६ थियो। जसमा पौडेलले २६६० मत मात्र पाएका थिए। यहाँ विजयी हुने नेकपा एमालेका मणिराम फुयाँलले १६५७५ मत पाएका थिए।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा ख मा पनि विवेकशील साझाले जनानत गुमायो। यहँ उम्मेद्वार भएका महेशकुमार श्रेष्ठले १०८७ मत मात्र पाएका थिए। २४ हजार २ सय ४९ सदर मत खसेको यहाँ विजयी हुने नेकपा एमाले रामेश्वर फुयाँलले १०८८६ मत पाएका थिए। यहाँ कांग्रेसका बिमल ठकुरीले १०८१९ मत पाएका थिए।

यस्तै काठमाडौं क्षेत्र नम्बर ४ ख मा उम्मेद्वार भएका विवेकशील साझाका मधुसुधन कार्कीको पनि जमानत जफत भएको छ। २३८५८ मत खसेको यो क्षेत्रमा विजयी हुने एमालेका कुसुमकुमार कार्कीले १२३४७ मत पाएका थिए।

यसैगरी काठमाडौं, क्षेत्र नम्बर ६ ख मा पनि विवेकशीलले जमानत गुमायो। विवेकशीलका लागि उम्मेद्वार भएका अजित खड्काले १३५४ मत मात्र पाएका थिए। यहाँ कुल खसेको सदर मत २३५७१ थियो। विजयी हुने एमालेका योगेन्द्र राज संग्रौलाले १२८१७ मत पाएका थिए।

काठमाडौं क्षेत्र नम्बर ७ ख बाट उम्मेद्वार भएका प्रेम लामाको पनि जमानत जफत भएको छ।  १४९२० मत खसेको यहाँ उनले १११६ मत पाए। ६०२२ मत ल्याएर एमालेका प्रकाश श्रेष्ठ विजयी भए।

क्षेत्र नम्बर ८ ख बाट उम्मेद्वार भएका श्याम कृष्ण श्रेष्ठको पनि जमानत जफत भएको छ। १३६१९ कुल सदर मत खसेको यहाँ श्रेष्ठले १२७३ मत पाएका थिए।

९ नम्बर क्षेत्र ख बाट उम्मेद्वारी दिएका विवेकशील साझाका सुरेन्द्रबहादुर रानाभाटको पनि जमानत जफत भएको छ। २४१३६ कुल सदर खसेको मतमध्ये रानाभाटले १३८४ मत पाएका थिए।

काठमाडौं क्षेत्र नम्बर १० बाट विवेकशील साझाका सबै उम्मेद्वारको जमानत जफत भएको छ। प्रतिनिधि सभामा प्रदीप ढकालले जमानत जोगाउन नसक्दा प्रदेश सभा क मा देबहादुर महर्जन र ख मा एलिसा महर्जन दुबै ले जमानत बचाउन सकेनन्।

देबहादुरले ३६१०२ खसेको कुल सदर मतको १८०९ मत पाए भने एलिसाले १८९९७ खसेको कुल मतको ५०६ मत पाइन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.