प्रत्यक्षतर्फ अब सुनसरी क्षेत्र नम्बर ३ बाहेक सबै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। यो क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले पछिल्लो समय अग्रता लिएका छन्। सुरूवातदेखि अग्रता लिइरहेको संघीय गठबन्धनबाट एमाले नेतृ भगवती चौधरी अन्तिम समयमा आएर पछि परेकी हुन्। अब यहाँ करिब ७ हजार मत गन्न बाँकी छ।
यता समानुपातिक तर्फ कुल खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मत मध्ये गणना भएको ५१ लाख ५६ हजार ६१० मत गन्दा एमालेले सबैभन्दा बढी १८०९४४३ अर्थात ३५ प्रतिशत मत ल्याएको छ। नेपाली कांग्रेसले भने ३३.४ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३.८२ प्रतिशत मत पाएको छ। बिहान साढे ८ बजेसम्म यी तीन पार्टीबाहेक संघीय समाजवादी फोरम र राजपाले मात्र तीन प्रतिशत मत कटाएका छन्। तीन प्रतिशतका लागि राप्रपा २.२९ प्रतिशत मत र विवेकशील साझा २.२ प्रतिशत ल्याएर संघर्षरत छन्।
३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्र राष्ट्रिय पार्टीका रूपमा समानुपातिकको १ सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन्।
विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए । तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ ।
निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १.५ प्रतिशत मतको थ्रेसहोल्ड तोकेको छ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(११) र प्रदेशसभा निर्वाचन ऐनको दफा ६०(९) मा त्यससम्बन्धी प्रावधान उल्लेख छ ।
समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालका अनुसार प्रतिनिधिसभाको हकमा ३ र प्रदेशसभाको हकमा डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलले सम्बन्धित सभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व पाउदैनन्। समानुपातिकको सिट बाँडफाँड गर्दा थ्रेसहोल्डमा तोकिएभन्दा कम मतलाई जोडिदैन। उनीहरूले पाएको थ्रेसहोल्ड माथिको मतको योगफल निकाली प्राविधिकहरूको सहयोगमा सिट वितरण हुनेछ।