प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा थोरै महिला निर्वाचित भएकाले अव पार्टीहरूले समानुपातिकका बहुसंख्यक सिटमा महिला सांसद निर्वाचिनत गर्नुपर्नेछ।
संविधानमा संघीय संसदको ३३ प्रतिशत महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छ। यदि प्रत्यक्षतर्फ कम महिला सांसद निर्वाचित भए भने त्यसको क्षतिपूर्ति समानुपातिक र राष्ट्रिय सभाबाट गर्नुपर्छ।
संघीय संसदमा प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाको ५९ गरी ३३४ सांसद निर्वाचित हुन्छन्।
अहिलेसम्मको मत परिणाम अनुसार यसपाली जम्मा ५ जना मात्र महिला सांसद निर्वाचित भएका छन्। ती मध्ये तीन जना माओवादी केन्द्र, एक जना एमाले र एक जना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन्।
एमालेका दुई जना महिला उम्मेद्वारहरू प्रतिस्पर्धा गरेको सुनसरी ३ र स्याङ्जा २ को मतगणना जारी छ।
प्रत्यक्षतर्फ एमालेका ८० सांसद निर्वाचित हुने लगभग पक्का छ। त्यस्तै समानुपातिकमा अहिलेसम्म गनिएको मतको 'ट्रेन्ड' हेर्दा एमालेले लगभग ३७ प्रतिशत मत ल्याउने देखिन्छ। ३७ प्रतिशत मत बराबर एमलेले समानुपातिकमा ४१ जना सांसद पाउनेछ। यसरी प्रत्यक्ष र समानुपातिक गरी एमालेका १२१ सांसद हुनेछन्।
सम्वैधानिक ब्यवस्था अनुसार यि १२१ सांसद मध्ये ३३ प्रतिशत अर्थात ४० जना महिला सांसद हुनै पर्छ। एमालेबाट अहिलेसम्म निर्वाचित १ जना मात्र महिला सांसद भएकाले समानुपातिकतर्फ सो पार्टीले पाउने ४१ मध्ये ३९ जना महिला महिला पठाउनै पर्छ।
त्यसमाथि राष्ट्रिय सभाबाट निर्वाचित हुने उसका सांसद पनि कम्तिमा ३३ प्रतिशत हुनैपर्छ।
कांग्रेसले समानुपातिकतर्फ अहिले लगभग ३५ प्रतिशत मत ल्याइरहेको छ। यो प्रतिशत कायम रह्यो भने समानुपातिक तर्फ निर्वाचित हुने ११० मध्ये ३९ जना कांग्रेसको भागमा पर्नेछ। अहिलेसम्म प्रत्यक्षतर्फ निर्वाचित कांग्रेसका २१ जना सबै पुरूष सांसद हुन्।
प्रत्यक्ष र समानुपातिक गरेर निर्वाचित हुने कांग्रेसका जम्मा ६० सांसदमध्ये ३३ प्रतिशत अर्थात २० जना महिला सांसद हुनै पर्छ। त्यसैले समानुपातिकतर्फ कांग्रेसले निर्वाचित गर्ने ३९ जना मध्ये आधा भन्दा धेरै महिला सांसद हुनैपर्छ।
माओवादी केन्द्रले अहिलेसम्म समानुपातिकमा १५ प्रतिशत मत ल्याएको छ। यसअनुसार समानुपातिकतर्फ निर्वाचित हुने ११० सांसदमध्ये १७ जना पाउँछ। माओवादी केन्द्रका प्रत्यक्षतर्फ निर्वाचित ३६ र समानुपातिक तर्फ निर्वाचित हुने १७ गरी ५३ सांसद पुग्नेछन्।
यी ५३ मध्ये ३३ प्रतिशत अर्थात १८ जना महिला सांसद हुनैपर्छ। प्रत्यक्षतर्फ माओवादीका ३ जना सांसद निर्वाचित भइसकेका छन्। त्यसैले समानुपातिकतर्फ माओवादीले पाउने १७ मध्ये १५ जना महिला हुनैपर्छ।
कांग्रेस र माओवादीले पनि राष्ट्रिय सभामा निर्वाचित हुने आफ्ना सांसदहरूमध्ये पनि एक तिहाई महिला पठाउनुपर्छ।
अहिलेसम्मको मत परिणाम अनुसार एमाले कांग्रेस र माओवादीबाहेक दुई मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रय जनता पार्टी नेपाल (राजपा) ले मात्र ३ प्रतिशतको थ्रेस होल्ड कटाउने सम्भावना छ। थ्रेस होल्ड कटाउने दलले समानुपातिक तर्फ सांसद निर्वाचित गर्न पाउँछन्।
अहिलेसम्म प्रत्यक्षतर्फ फोरमका १० र राजपाका १० सांसद निर्वाचित भएका छन्। यी सबै पुरूष हुन्। यि दुबै पार्टीले समानुपातिक तर्फ औसत ४ प्रितशत मत ल्याए भने ४ वा ५ जना सासंद पाउनेछन्।
३३ प्रतिशत महिला सांसद हुनै पर्ने संवैधानिक ब्यवस्था पुरा गर्न यि दुबै मधेशी दलले समानुपातिक तर्फ पाउने चार वा पाँच सिटमा सबै महिला निर्वाचित गर्नुपर्नेछ।
संघीय संसदमा तेत्तिस प्रतिशत महिला पुर्याउनै पर्ने ब्यवस्था गरिएको संविधानको धारा ८४ को ८ मा यस्तो लेखिएको छ:
‘यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्नेछ। त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) र धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरू मध्ये कुनै राजनीतिक दलको एक तिहाइ सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो राजनीतिक दलले उपधारा (१) को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ।’