पत्रकारले सोधे सरकारको कुरा, ओलीले गरे अस्पतालको कुरा


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी परिणाममा नेकपा एमालेले अग्रता लिइरहेको छ। वाम गठबन्धन बहुमत उन्मुख छ। सरकार कस्तो बन्छ? कसको नेतृत्वमा बन्छ? जनतामा निर्वाचन परिणामसँगै चासो छ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले यस्तै प्रश्न गरे। ओली बिहानै उपेन्द्र महतोको लगानीमा खुलेको मेडसिटी अस्पताल पुगेका थिए। ओली अस्तापल पुग्ने थाहा पाएपछि पत्रकार पनि पुगिहाले। अनि क्यामेरा तेर्साउँदै प्रश्न सोध्न थाले।

कान्तिपुर टेलिभिजनका पत्रकार दशरथ राईले सोधे : निर्वाचनको रिजल्टलाई कसरी लिनु भएको छ?  सरकार गठनको प्रक्रियालाई कसरी अगाडि बढाउनुहुन्छ? तपाँइ चुनावी कमाण्डर पनि हुनुहुन्छ।

तर ओलीले प्रश्नको जवाफ दिएनन्। उनले प्रश्नबारे केही भनेनन्। पत्रकारबाट उम्कन पनि खोजेनन्। बरू सरासर अर्को विषयमा बोल्न थाले।

ओलीले भने : मैले यस हस्पिटलको स्थापनालाई राम्ररी लिएको छु। सकारात्मक रुपमा लिएको छु। यसको उन्नती होस् । प्रगती होस्। सफलता होस्। यसले बिमारीको राम्ररी उपचार गरेको मैले पाएको छु। म यस हस्पिटलको सफलताको कामना गर्दछु। मैले भनेको छु मेरो तर्फबाट हुने सहयोग हुन्छ।

राईले पुन: प्रश्न गरे : समग्र देशको बारे भनिदिनु न, तपाईँ त देशको मियो हुनुहुन्छ अहिले? देशव्यापी रुपमा वामपन्थीले जितिराखेको छ।

ओलीले राई तर्फ फर्किएर प्रश्न त सुने। तर जवाफ दिएनन्।

ओलीले भने : नेपाललाई मेडिकल हबको रुपमा एजुकेशन हबको रुपमा विकास गर्न सकिन्छ। त्यस दिशामा यस हस्पिटलले यस दिशामा काम गरोस्।

त्यसपछि राईले प्रश्न सोधेनन्। अर्का एक पत्रकारले प्रश्न गर्न अगाडि सरे।

उनले सोधे : अब ठूला नेताहरु उपचारका लागि विदेश जानबाट रोकिन्छ कि? कुनै आभास पाउनु भएको छ?

ओलीले जवाफ दिए : तपाँइहरुको ध्यान ठूला नेतातिर गएको हो। सक्नेले सकेसम्म बाँच्न खोज्छ र विदेश गएर उपचार गराउँछ। ठूला नेताहरु मात्र होइन अरू पनि।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.