५० हजार मत कटाउने वाम गठबन्धनका यी चार नेता


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।

कतै झिनो मतान्तरले जित हार भैरहेको छ भने कतै निकै फराकिलो अन्तरमा निर्वाचन परिणाम आइरहेको छ। तर, यसबीचमा वाम गठबन्धनका चार उम्मेद्वारले भने ५० हजार भन्दा धेरै मत प्राप्त गर्दै विजयी बनेका छन्। जसमध्ये तीन एमाले उम्मेद्वार छन् भने एक जना माओवादी केन्द्रका हुन्।

कांग्रेस, राजपा, संघीय फोरमका कुनैपनि उम्मेद्वारले यति धेरै मत पाउन सकेका छैनन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा धेरै मत ल्याएका छन्। ओलीले ५७ हजार १ सय ३९ मत ल्याएका हुन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए। दोलखा १ मा पार्वत गुरुङले ५५ हजार ९ सय ५४ मत ल्याएका छन्। सबैभन्दा धेरै मत ल्याउनेमा उनी दोश्रो नेता हुन्।

गुरुङले कांग्रेसका २४ हजार ८ सय १३ मत ल्याएका रुद्रबहादुर खड्कालाई पराजित गरे। ५० हजार भन्दा धेरै मत ल्याउने तेश्रो नेता हुन् सुरेन्द्र पाण्डे। चितवन १ बाट विजयी पाण्डले ५० हजार ८ सय ९७ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी राजेन्द्रप्रसाद बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए।

त्यस्तै, माओवादी केन्द्रका सन्तकुमार थारुले पनि ५० हजार मत कटाएका छन्। बर्दिया २ बाट उठेका थारुले ५० हजार ५ सय ५५ मत ल्याएर विजयी भए। उनले ३६ हजार ७ सय ३५ मत ल्याएका कांग्रेसका गोपाल दहितलाई पराजित गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.