२०७० सालको संविधानसभाको निर्वाचनमा सिरहा ५ बाट नेकपा माओवादी केन्द्रका प्रचण्डसँग हारेका नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका छन्।
माओवादी केन्द्र समेतको सहयोगमा चार वर्षपछि प्रतिनिधिसभाका लागि सिरहा ३ बाट जितेका उनले २ हजार ५२ को मतान्तरले विपक्षीलाई हराएका हुन्।
उनले २३ हजार २ सय ७२ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले २१ हजार २ सय २० मत प्राप्त गरेका छन्।
सिरहाको गोलबजार नगरपालिका ७ मा घर रहेका ६० वर्षीय श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन सिरहा जिल्ला विकास समितिको उपसभापति चुनिएका थिए।
जिल्लाको उपसचिव, सचिव हुँदै जिल्ला पार्टी अध्यक्षको भूमिका निभाएका श्रेष्ठ २०७० को संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी रहेकाले चर्चामा थिए।