समानुपातिकमा पहिलो पार्टी को? विवेकशील-साझा र राप्रपा बन्छन् राष्ट्रिय पार्टी?


सेतोपाटीले बिहिबार मतदान सकिने बित्तिकै चुनाव परिणाम सम्बन्धि पहिलो   विश्लेषण लेखेको थियो। (के वाम गठबन्धनले बहुमत ल्याउँछ?) सो विश्लेषणमा हामीले वाम गठबन्धले ठूलो बहुमतका साथ जित्ने बताएका थियौं।

हामीले लेखेका थियौं— वाम गठबन्धनलाई दुई तिहाई सिट ल्याउन गार्हो हुनेछ, तर त्यो असम्भव भने होइन।

चुनाव परिणामबारे यो हाम्रो दोस्रो विश्लेषण हो। समानुपातिकमा कुन पार्टीले सबैभन्दा धेरै मत ल्याउनेछ र कुन कुन दल राष्ट्रिय पार्टी बन्नेछन् भन्ने विषयमा यो विश्लेषण केन्द्रीत हुनेछ।

मतदाताको धारणा बुझ्ने क्रममा हामीले काठमाडौं, गोरखा, वीरगन्ज, जनकपुर, विराटनगर र झापाका पन्ध्र सयभन्दा बढी मतदातासँग भेटेर कुराकानी गरेका थियौं। त्यसबाहेक हामीले २०७० सालको संविधानसभा निर्वाचन र केही महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको तथ्यांक पनि विश्लेषण गरेका छौं।

विश्लेषणको शुरूवात समानुपातिक तर्फ सबैभन्दा ठूलो पार्टी कुन बन्नेछ भन्ने प्रश्नबाट गरौं।

२०४८ सालदेखि नै लोकप्रिय मतमा कांग्रेस अग्रस्थानमा रहँदै आएको छ। २०६४ सालमा मात्र माओवादीले कांग्रेसलाई लोकप्रिय मतमा पछि पारेको थियो। दोस्रो संविधानसभामा फेरि कांग्रेस नै धेरै लोकप्रिय मत ल्याउने पार्टी बन्यो।

तर २०४८ सालदेखिको ‘ट्रेन्ड’ हेर्ने हो भने लोकप्रिय मतमा कांग्रेसको अंश लगातार घटदै गएको छ। प्रमुख प्रतिपक्षी दल एमालेको मत बढ्दै गएको छ।

लोकप्रिय मत बढाउदै लगेको भए पनि २०७० सालको निर्वाचनसम्म एमाले कांग्रेसभन्दा पछि नै थियो। दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसले २४.७ प्रतिशत लोकप्रिय मत ल्याउँदा एमालेले २२.९ प्रतिशत मात्र ल्याएको थियो। कांग्रेसले एमालेभन्दा झण्डै दुई लाख धेरै मत ल्याएको थियो।

उमेद्वारहरूले पाएको मत जोड्दा पछिल्लो स्थानीय निर्वाचनमा पहिलो पटक एमालेले कांग्रेसभन्दा धेरै मत ल्याएको देखिन्छ। एमालेका उमेद्वारले ३४ प्रतिशत मत ल्याउँदा कांग्रेसका उमेद्वारले ३३ प्रतिशत मात्र मत पाएका थिए।

यसपालिको समानुपातिक मतमा एमालेले कांग्रेससँग स्थानीय निकायमा देखिएको अग्रता बढाउला वा कांग्रेस नै पहिलो पार्टी बन्ला?

यो प्रश्नको उत्तर चार वटा मुख्य ‘फ्याक्टर’ले निर्धारित गर्नेछ।

पहिलो, एमालेको बढ्दो लोकप्रियता।

एमालेले पछिल्ला वर्षहरूमा बढाउँदै लगेको लोकप्रिय मतको ‘ट्रेन्ड’ यसपाली पनि कायमै रहने सम्भावना छ। भारतीय नाकाबन्दीको समयमा एमाले र विशेषगरी सो पार्टीका अध्यक्ष केपी ओलीले लिएको अडानले उसको लोकप्रियता बढेको छ।

त्यही लोकप्रियताका कारण प्रतिपक्षमा बसेर पनि एमालेले स्थानीय निर्वाचनमा राम्रो परिणाम ल्याउन सक्यो। बिगतको ‘ट्रेन्ड’ हेर्दा सत्तामा बसेको दलले स्थानीय चुनावमा राम्रो नतिजा ल्याउने र प्रतिपक्षी दलले संसदीय निर्वाचनमा राम्रो गर्ने नजिर छ।

एमालेको लोकप्रियता बाहेक यसपालि सो पार्टीसँग वामगठबन्धनको तागत पनि छ। हामीले कुरा गरेका धेरै मतदातामा गठबन्धनले मुलुकमा स्थिरता ल्याउँछ, विकास गर्छ भनेको पायौं। आगामी सरकारको नेतृत्व पनि एमालेले नै गर्छ भन्ने विश्वास बढ्दै जाँदा धेरै मतदाताले ‘जित्ने पार्टी’ रोज्ने सम्भावना बढ्छ। त्यसैले एमालेले लोकप्रिय मत बढाउनेछ।

एमालेको प्रमुख प्रतिद्वन्दी कांग्रेसप्रति यसपाली आम मतदाताको खास आकर्षण छैन। पन्ध्र सय मतदातासँग कुरा गर्दा परम्परागत रूपमा कांग्रेसमा भोट हालेका मतदाता बाहेक कांग्रेसलाई मत दिन्छु भन्ने नयाँ मतदाता हामीले खासै भेटेनौं।

‘अधिनायकवाद’ विरूद्ध लड्ने कांग्रेसको प्रमुख नारामा मतदाता आकर्षित भएको हामीले पाएनौं। कांग्रेसको चुनाव प्रचारको नेतृत्व गरिरहेका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै नयाँ मतदातालाई आकर्षित गर्न सकेका छैनन्। त्यस कारणले पनि कतिपय नयाँ मतदाता एमालेतिर आकर्षित भएका छन्।

दोस्रो, एमालेलाई यसपाली समानुपातिक तर्फको मुख्य चुनौती भनेको माओवादीसँगको गठबन्धनका कारण भोट हाल्ने बेलामा मतदाता अलमल हुन्छन् कि भन्ने हो।

पहिलो चरणमा चुनाव भएका कतिपय जिल्लामा वाम मतदाताले झुक्किएर समानुपातिक तर्फ एमाले र माओवादी दुबैलाई मत दिएको रिपोर्ट आएका छन्। त्यो कति ठूलो मात्रमा छ, यकिन छैन। यदि मतदाता ठूलो संख्यामा झुक्किए भने, त्यसले एमाले र माओवादी दुबैको समानुपातिकको मत केहि घट्नेछ।

तेस्रो, कांग्रेसलाई यसपाली विजय गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमको केही मत थपिनेछ। स्थानीय चुनावपछि लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएको थियो। फोरमको दुई प्रतिशत भन्दा केही बढी मत छ।

चौँथो, कांग्रेसको समानुपातिक तर्फको  केही मत यसपालि विवेकशील-साझाले घटाउने छ।  अहिले विवेकशील साझालाई मत दिन्छु भन्ने धेरै मतदाताले अधिल्लो पटक कांग्रेसलाई मत दिएका थिए।

केही अघि भएको स्थानीय चुनावमा हामीले काठमाडौं महानगरका ५०० मतदातासँग कुरा गरेका थियौं। त्यो बेला विवेकशील पार्टीलाई भोट दिएका झण्डै ६० प्रतिशत मतदाताले २०७० सालको संविधानसभा चुनावमा कांग्रेसलाई भोट दिएको बताएका थिए। विवेकशीलाई भोट दिने ३० प्रतिशत मतदाले मात्र अघिल्लो चुनावमा एमालेलाई मत दिएको बताएका थिए।

त्यस्तै, त्यो बेला साझा पार्टीलाई भोट दिएका ५० प्रतिशत मतदाताले अधिल्लो पटक कांग्रेसलाई मत दिएको बताएका थिए भने ४० प्रतिशतले एमालेलाई मत दिएको बताएका थिए।

विवेकशील-साझाले यसपाली समानुपातिकमा कांग्रेस-एमाले दुबैको मत काट्ने छ। तर एमालेभन्दा कांग्रेसकै धेरै मत काट्ने पक्का छ। त्यसले कांग्रेसलाई समानुपातिकमा घाटा पुर्‍याउनेछ।

यी चारै पक्षलाई ध्यानमा राख्दा, लोकप्रिय मतमा यसपालि एमालेले कांग्रेसलाई उछिन्न सक्ने बलियो सम्भावना छ।

एमाले र माओवादीले पछिल्लो स्थानीय निकायको चुनावमा खसेको जम्मा मतको ३४ र १७ प्रतिशत मत ल्याएका थिए। त्यसैले दुबैको पपुलर मत जोड्दा ५० प्रतिशत भन्दा धेरै पुग्नेछ।

तीन प्रमुख पार्टी बाहेक दुई मधेसी दल पनि राष्ट्रिय पार्टी बन्ने बलियो सम्भावना छ।

राष्ट्रिय पार्टी बन्न यसपालि कानुनले ‘थ्रेसहोल्ड’ को ब्यवस्था गरेको छ। समानुपातिक तर्फ कुल सदर मतको कम्तिमा तीन प्रतिशत मत ल्याउने र प्रत्यक्षमा कम्तिमा एक सिट जित्ने दल मात्र राष्ट्रिय पार्टी बन्नेछन्।

कुनै दलले समानुपातिकमा तीन प्रतिशत मत ल्यायो तर प्रत्यक्षमा कुनै सिट जितेन भने त्यो दलका सांसदको हैसियत स्वतन्त्र सरह हुनेछ। प्रत्यक्ष तर्फ कम्तिमा एक सिट जित्यो तर समानुपातिकमा तीन प्रतिशत पुगेन भने पनि त्यो दलले राष्ट्रिय पार्टीको मान्यता पाउने छैन। निर्वाचित सांसदहरु संसदमा स्वतन्त्र सांसदको हैसियतमै रहने छन्।

दुई प्रमुख मधेसवादी दल, संघीय समाजवादी दल र राष्ट्रिय जनता दल पनि राष्ट्रिय पार्टी बन्ने बलियो सम्भावना छ। दुबै दलले चुनावी तालमेल गरेकाले प्रत्यक्ष तर्फ केहि सिट जित्न उनीहरुलाई चुनौती छैन।

मुख्यत: दुई नम्बर प्रदेश र मधेसका अन्य जिल्लामा पनि जनाधार भएका कारण यी दुबै दलले तीन प्रतिशत मत ल्याउन सक्ने सम्भावना छ।

स्थानीय निर्वाचनमा फोरम र राजपाले खसेको मतको क्रमशः चार र तीन प्रतिशत मत ल्याएका थिए। राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिस्कार गरेको थियो। त्यसैले, यसपालि उसको मत केही बढ्ने छ।

हामी मधेसका जिल्ला घुम्म जाँदा यी दुवै पार्टीको पक्षमा मधेस आन्दोलनको ‘सेन्टिमेन्ट’ बलियो रहेको पायौं। त्यसले पनि उनीहरुको केही मत  बढ्न सक्छ। प्रत्यक्षमा कांग्रेस, एमाले वा माओवादी दललाई भोट दिने कतिपय मतदाताले यसपालि समानुपातिकमा फोरम वा राजपालाई मत दिन सक्छन्।

यी पाँच पार्टीबाहेक राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना अरु दुई पार्टीको पनि छ-‍ राप्रपा र विवेकशील साझा।

विघठित संसदको चौथो ठूलो दल राप्रपा र पहिलोपटक संसदीय निर्वाचनमा होमिएको विवेकशील-साझा पार्टीले थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टी बन्छन् वा बन्दैनन् भन्ने सर्वत्र चासो छ।

हामीले यही चासो पछ्याउँदै काठमाडौँ, गोरखा, वीरगन्ज, जनकपुर, विराटनगर र झापाका १५,०० मतदातासँग कुरा गरेका थियौं।

२०७० सालको संविधानसभामा एउटा चर्चित नारा थियो-‘एक भोट दाईलाई, एक भोट गाईलाई!’

त्यो बेला यही नारा पछ्याउदै धेरै कांग्रेस, एमाले मतदाताले पनि समानुपातिकमा गाई चिन्हमा भोट हाले। समानुपातिकमा पाएको मतका आधारमै राप्रपाले २४ जना सांसद पायो र संसदमा चौथो ठूलो शक्ति बन्यो।

यसपालि भने यो नारा फिक्का भएको छ। र राप्रपाप्रतिको आकर्षण पनि धेरै घटेको छ।

विरगन्जको माइस्थानचोकका हरिलाल साह २०७० सालको संविधानसभा चुनावमा राप्रपाको चहलपहल सम्झेर भावुक भए।

‘त्यो बेला हिन्दु राज्यकालागि सभा भनेपछि कति मान्छे आउथे। अहिले यहाँ हिन्दुराज्यको चर्चा समेत छैन,’ उनले भने।

दोस्रो संविधानसभामा ६ लाख ३० हजार मत ल्याएको राप्रपाले सदर समनुपातिक मतको झण्डै साढे छ प्रतिशत मत ल्याएको थियो।

यी मतबाट कति मत उसले यसपाली बचाएर आफ्नो पोल्टामा पार्ला?

हामीले वीरगन्जदेखि झापासम्म कुरा गरेका एक हजार मतदातामा १५२ यस्ता मतदाता भेट्यौं जसले २०७० सालमा राप्रपालाई समानुपातिकमा भोट दिएका थिए।

ती मध्ये अहिलेपनि ७६ जनाले मात्र गाई चिन्हमा मत दिन्छु भने। अर्थात अघिल्लो पटक गाईलाई मत दिएका आधाले मात्र अब पनि राप्रपालाई मत दिन्छु भने।

जनकपुरका फूलबावु पाण्डेले पहिले हिन्दुराज्य बनाउँछ भनेरै राप्रपालाई भोट हालेका थिए। उनले फेरिपनि समानुपातिकमा राप्रपालाई भोट हाल्ने छन्। अहिले भने उनले राप्रपालाई भोट दिने एउटै कारण हो- आफूले पूजा गर्ने गाईको चित्र यो पार्टीको छाप हो।

‘संविधानमा हिन्दु राज्य त लेखेन तर गाई भनेको त माता हो। तपाईँ मातापिताले गालि गर्‍यो भनेर रिसाउनुहुन्छ? हामी पनि गाई छाप छोड्न सक्दैनौँ। एउटा भोट गौमाताको छाप भएकोले उसैलाई दिने हो,’ उनले भने।

अघिल्लो पटक राप्रपालाई भोट दिएका विरगन्जको विर्ता चोकका चन्द्र शेखर प्रसाद वनवालले भने यसपाली राप्रपालाई कुनै भोट नदिने बरु कांग्रेसलाई दिने निर्णय गरेका छन्।

‘किन नदिने?’ हाम्रो प्रश्न भुईँमा झर्न नपाउँदै उनको छेउमा उभिएका राजेश गुप्ताले उत्तर दिए, ‘राप्रपाले गाई बेचेर खाइसक्यो किन दिने? देख्नु भो यसपाली राप्रपाले वडामा समेत जितेन। वीरगन्जमा त यसपाली प्रत्यक्ष उम्मेदवार पनि उठाएको छैन।’

गुप्ताका कुरामा सहमति जनाउँदै वनवालले थपे, ‘मैले संविधानसभा चुनावमा दुवै भोट राप्रपालाई दिएको थिएँ। राजा पनि गयो, हिन्दुराज्य पनि गयो। अब नदिने।’ संविधानमा हिन्दु राज्य लेखाउन नसकेकोमा पनि उनी रुष्ट थिए।

पर्साको क्षेत्र नम्बर १ र २मा पर्ने वीरगन्ज महानगरपालिका राप्रपाको राम्रो मत भएको ठाउँ थियो। तर यहाँ राप्रपालाई भोट दिने मतदाता हामीले निकै कम भेट्यौँ।

के वाम गठबन्धनले बहुमत ल्याउँछ?

ठाकुरराम क्याम्पसका लेक्चर कन्हैया झाले पर्सामा लिड गर्ने राप्रपाको उम्मेदवार नभएकाले यहाँ राप्रपाको मत खस्केको बताए।

राप्रपाले २०७० सालको चुनावमा साढे छ प्रतिशत मत पाएको थियो। अघिल्लो पटक राप्रपालाई मत दिएका आधा मतदाताले यसपालि सो पार्टीलाई मत नदिने बताएका छन्।

काठमाडौंमा राप्रपालाई समानुपातिकमा मत दिनेको संख्या यसपाली झनै घटेको छ। गाईलाई अघिल्लो पटक समानुपातिकमा भोट हालेका कतिपय काँग्रेस र एमालेका मतदाता यसपालि विवेकशील साझा तिर आकर्षित भएका छन्।

२०७० सालमा राप्रपाले काठमाडौंका १० क्षेत्र मध्ये सबैभन्दा धेरै समानुपातिक मत ल्याउने  क्षेत्र ५ नम्बर पनि हो। हामीले यो क्षेत्रमा ९७ जना मतदातासँग कुरा गरेका थियौँ। यहाँ अहिले पनि राप्रपालाई समानुपातिकमा भोट दिने मतदाता ३ जना मात्र भेट्यौं। यी सबै राप्रपाका परम्परागत मत थिए।

अघिल्लो पटक गाईलाई समानुपतिकमा भोट हाल्ने कांग्रेस, एमालेका कुनै पनि मतदाताले यसपालि राप्रपालाई मत दिन्छु भनेनन्।

यसले गर्दा, समानुपातिकमा यसपालि राप्रपाको मत तीन प्रतिशत पुग्छ वा पुग्दैन भन्ने प्रश्न जन्मिएको छ।

मुलुकभरिनै छरिएर रहेका राजावादी र पुराना पन्चहरूको केही मत भएकोले राप्रपाले फाट्टफुट्ट मत सबैतिरबाट ल्याउँछ। तर सो पार्टीलाई पछिल्लो चुनावमा धेरै मत आएका काठमाडौं, विरगन्ज, मोरङ, र झापामा पार्टीको मत धेरै घट्ने भएपछि राप्रपालाई तीन प्रतिशत मत ल्याउन चुनौती छ।

राप्रपाका राजेन्द्र लिङदेनले झापा-३ मा चुनाव जित्ने सम्भावना छ। त्यसैले समानुपातिकमा तीन प्रतिशत मत आयो भने राप्रपा राष्ट्रिय पार्टी बन्नेछ।

विवेकशील-साझा बन्ला राष्ट्रिय पार्टी ?

बुढानिलकण्ठबाट टोखा जाने बाटोमा भेटिएका एक युवकले विवेकशील साझालाई भोट दिने बताए। उनी यही क्षेत्रका मतदाता हुन्। यसअघिको चुनावमा विदेश थिए। उतै बस्दा उनले यो पार्टीबारे सुनेका थिए।

पासीकोटमा भेटिएकी २२ वर्षिया एक मतदाताले प्रत्यक्ष र समानुपातिक दुबैमा विवेकशील साझालाई दिने बताएकी थिइन्। उनले पहिलोपटक भोट दिँदै छिन्।

काठमाडौंको पाँच नम्बर क्षेत्रमा विवेकशील-साझालाई समानुपातिकमा कति मत आउँछ भनि हामीले सर्भे गरेका थियौं। हामीले कुरा गरेका झण्डै १०० जना मतदाता मध्ये १५ जनाले विवेकशील-साझालाई समानुपातिकमा मत दिने बताए। जबकि उनीहरू मध्ये ८ जनालेमात्र विवेकशील-साझालाई प्रत्यक्षमा मत दिने बताए।

कांग्रेस, एमालेलाई प्रत्यक्षमा मत दिने बताएका कतिपय मतदाताले पनि समानुपातिकमा विवेकशील-साझालाई मत दिने बताएका छन्। काठमाडौंका अन्य निर्वाचन क्षेत्रका मतदाताहरुले पनि विवेकशीललाई समानुपातिकमा मत दिन्छौं भनेको सुनेका छौं।

त्यसैले काठमाडौंमा विवेकशील-साझालाई समानुपातिकमा १५ प्रतिशत जति मत आउन सक्छ। ललितपुरमा पनि विवेकशील साझाको उपस्थिति छ तर भक्तपुरमा भने विवेकशील साझा धेरै कमजोर छ।

झापा केचनाकवलको एउटा फाँटमा धान काटिरहेका भक्ति नेपालले समानुपातिक भोट तराजुमा दिने बताएका थिए। उनी पनि नयाँ मतदाता हुन्।

हामीले भेटेमध्ये कतिपय मतदाताले विदेशबाट आफ्ना छोराछोरी र आफन्तले फोनमा विवेकशील-साझालाई भोट दिन आग्रह गरको बताएका थिए। फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालको पहुँचमा भएका यूवाहरुले विवेकशील साझालाई भोट दिने भेटिए। आफ्ना छोराछोरीले भनेको भएरै मत दिने बाबुआमा पनि हामीले भेट्यौं।

रविन्द्र मिश्र र रन्जु दर्शनाबारे सुनेका र उनीहरुको प्रशंसा गर्ने मतदाता हामीले विराटनगर र झापामा पनि भेट्यौँ।

तर २ नम्बर प्रदेशमा पर्ने मधेसका जिल्लामा विवेकशील साझा बारे सुनेका वा उसलाई भोट हाल्ने मतदाता नगन्य मात्रमा भेटिए। पश्चिम तराईमा पनि विवेकशील-साझा कमजोर रहेको हाम्रा संवाददाताहरुले हामीलाई बताएका छन्। अरुबाट पनि हामीले त्यहि सुनेका छौं।

वीरगन्ज, जनकपुर, विराटनगर र झापामा हामीले भेटेका एक हजार मतदाता मध्ये विवेकशीललाई समानुपातिकमा भोट दिन्छौँ भन्ने जम्मा १५ जना मात्र थिए। यो भनेको १.५ प्रतिशत मात्र हो।

तर मध्य पहाडका कतिपय स-साना शहरहरुमा विवेकशील-साझाको चर्चा हामीले सुनेका छौं। विवेकशील-साझालाई समानुपातिकमा मत दिन्छौं भन्ने मानिस भेटेका छौं। त्यसैले विवेकशीलले तीन प्रतिशत मत ल्याउन मधेस भन्दा पहाडका जिल्लामा भरपर्नु पर्नेछ भन्ने हामीलाई लाग्छ।

काठमाडौं र ललितपुर नै साझाको सबैभन्दा ठूलो भोट बैंक हो। उपत्यकामा विवेकशील-साझाले डेढ दुई लाख मत ल्यायो भने मात्र देशको अन्य भागबाट ल्याउने मतले तीन प्रतिशतको थ्रेसहोल्ड विवेकशील-साझाले पुर्‍याउन सक्छ।

प्रत्यक्ष तर्फको मतगणना जारी रहँदा विवेकशील-साझालाई अर्को पनि चुनौति देखिएको छ। प्रत्यक्ष तर्फ एक सिट जित्ने सम्भावना बोकेका सो पार्टीका एक मात्र  उमेद्वार रवीन्द्र मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग लगातार पछि परेका छन्।

उनले जितेनन् भने तीन प्रतिशत मत ल्याएर पनि विवेकशील साझा राष्ट्रिय पार्टी बन्नबाट वन्चित रहनेछ।

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति र पुराना पन्चहरुको राप्रपा प्रजातान्त्रिकको चर्चा हामीले कमै सुनेका छौं। जिल्लाहरुमा उनीहरुलाई समानुपातिकमा मत दिन्छु भन्ने मतदाता पनि बिरलै भेट्यौं। यी दुबै पार्टीले यसपाली समानुपातिकमा तीन प्रतिशत मत पुर्‍याएर राष्ट्रिय पार्टी बन्नेछन् भन्ने हामीलाई लाग्दैन। पछिल्लो स्थानिय निर्वाचनमा पनि यी दुबै पार्टीको मत एक लाख भन्दा कम छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.