११ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?


पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये अपरान्ह १२ बजेसम्म ११ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये वाम गठवन्धनले ९ सिट जितेका छन् । कांग्रेस र स्वतन्त्र उम्मेद्वारले १-१ सिट जितेका छन्।

प्रतिनिधिसभा तर्फ

प्रतिनिधि सभातर्फ वामका ३ उम्मेदवार विजयी भएका छन्। मनाङमा एमालेका पाल्तेन छेवाङ गुरुङ, मुस्ताङमा प्रेम तुलाचन विजयी भए। यस्तै रूकुमपूर्वमा माओवादीकी कमला रोका विजयी भइन्।

प्रदेशसभामा को विजयी

हालसम्मको परिणाम अनुसार प्रदेशसभातर्फ ८ स्थानमा अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रदेशसभामा एमाले ४, माओवादी २, कांग्रेस १ र स्वतन्त्र १ सिट जितेका छन्।

मुस्ताङका क र ख दुवै क्षेत्र एमालेले जितेको छ। मुस्ताङको प्रदेशसभा (क) मा एमालेकै इन्द्रडादु विष्ट, प्रदेश सभा (ख) मा महेन्द्रप्रसाद थकाली विजयी भएका छन्। हुम्ला क मा दलबहादुर रावल विजयी भएका छन् भने डोल्पा क मा एमालेकै नन्दसिंह बुढा विजयी भएका छन्। यस्तै बाजुर क मा बलदेव रेग्मी विजयी भएका छन्।

पूर्व रुकुमका दुवै प्रदेशमा माओवादीले जित हात पारेको छ। क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्ती विजयी भएका छन्।

नेपाली कांग्रेसबाट मनाङ क मा चिन्तबहादुर घले विजयी भएकी छन्। मनाङ ख मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ तर्फ दीपक मनाङ्गे विजयी भए।

अग्रता कहाँ कसको?

अहिलेसम्म नेकपा एमालेले २१ स्थानमा अग्रता लिएको छ। यस्तै माओवादीले १६,  नेपाली कांग्रेसले ५ र अन्यले २ स्थानमा अग्रता लिएका छन्।

एमालेले ताप्लेजुङ, बैतडी, बझाङ, मुगु, म्याग्दी, दार्चुला, ओखलढुंगा, संखुवासभा, धादिङ १ र २, नुवाकोट,  दोलखा, पाँचथर, सिन्धुपाल्चोक २, ललितपुर २, डोल्पा  र बाग्लुङ १ मा अग्रता लिएको छ।

त्यस्तै माओवादी केन्द्र १६ स्थानमा आगाडि रहेको छ। माओवादीले रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सिन्धुपाल्चोक १, कालीकोट, गोरखा १, नुवाकोट २, सोलुखुम्बु, भोजपुर, जुम्ला, रामेछाप, लमजुङ र बाग्लुङ २ मा अग्रता लिएको छ।

नेपाली कांग्रेस ५ स्थानमा अगाडि रहेको छ। रसुवा, बाजुरा, ललितपुर ३ र हुम्लामा कांग्रेस अगाडि छ।

नयाँ शक्ति पार्टी भने हालसम्म गोरखा २ मा मात्र अगाडि देखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.