सिन्धुपाल्चोक क्षेत्र नं २ मा धेरै मत बदर


सिन्धुपाल्चोक क्षेत्र नै २ मा धेरै मत बदर भएको छ। स्रोतका अनुसार क्षेत्र नं २ मा मात्र झण्डै १० प्रतिशत मत बदर भएको हो। बदर मतको संख्या धेरै देखिएपछि निर्वाचन अधिकृतले एकमुष्ठ बदर मतको जानकारी सार्वजनिक गर्ने निर्णय लिएका छन्।

वाम गठबन्धनका उम्मेद्वार शेरबहादुर तमाङले मतदाताले सूर्यसँगै गोलकार भित्रको हलोमा पनि छाप लगाएको भेटिएको बताए। ‘हामीले दुई चुनाव चिह्नको प्रचार गर्दा गोलकार भित्र हँसिया हथौडा भन्यौँ तर भोट गोलकार भित्र हलोमा मत गएको छ’, तमाङले भने, ‘समानुपातिकमा धेरै चिन्हमा छाप लगाएको भेटिएको छ।’

राप्रपा प्रजातान्त्रिकको पनि धेरै मत बदर देखिएको छ। मतपत्रमा राप्रपा प्रजातान्त्रिकको गोलाकार भित्रको हलो र एकीकृत राप्रपाको आयातकार भित्रको हलो चुनाव चिह्न तल र माथि रहेको थियो। दुवै चिन्हमा मतदाताले मत दिएको भेटिएको हो।

मतगणना जारी रहँदा क्षेत्र नं २ मा शेरबहादुर तमाङ अगाडि छन् भने पशुपति शमशेर जबरा उनलाई पछ्याइरहेका छन्।

तमाङले १० हजार ३ सय ६ मत ल्याएका छन् भने राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर जबराले ९ हजार १ सय ६१ मत ल्याएका छन्।

धेरै तमाङ जनसंख्या रहेको यो क्षेत्रमा कतिपय मतपत्रमा ल्याप्चे लगाएको समेत भेटिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.