नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन्। भक्तपुरको बालकोटमा मतदानपछि ओलीले निर्वाचनपछि स्थायीत्व र समृद्धि तर्फ देश अगाडि बढ्ने उल्लेख गरे।
‘सामान्य बहुमत एमाले एक्लैले ल्याउँछ’, ओलीले भने, ‘अहिले एक्लै बहुमत भन्दा चुनावी तालमेल महत्वपूर्ण हो।‘ निर्वाचन अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ६०/४० भागवण्डा गर्दै उम्मेद्वारी दिएका थिए।
पत्रकारहरुको प्रश्नमा ओलीले पार्टी एकता छिट्टै सुरु हुने दावी गरे। उनले छिटो भनेको कहिले भन्ने पत्रकारको जिज्ञासामा ‘तत्कालै’ भन्ने जवाफ फर्काए।
अन्य दलका शीर्ष नेताहरुले बिहानै मतदान गरेको भएपनि एमाले अध्यक्ष ओली ४ बजे मात्र मतदानका लागि पुगेका थिए।
‘मतदान नै गर्नु हो, हतार किन गर्नु’, ओलीको भनाई थियो।
ओली झापा-५ बाट उम्मेद्वार छन्। तर उनले मतदान भने बालकोटबाट गरेका हुन्। आफूले आफैँलाई मतदान गर्न नपाएको विषयमा समेत ओलीले जवाफ दिए।
‘आफूले आफैँलाई मतदान गर्न नपाएको ठूलो कुरा होइन। मैले मताधिकार प्रयोग गरेको छु’, ओलीले भने, ‘२०७० मा पनि मैले आफूलाई दिएको थिइन। यसअघि मतदान यहिँ गरिएको छ।‘