भक्तपुरको बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने कांग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ ।
विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताए।
काँग्रेसका प्रतिनिधिले एमालेले कांग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ ।
ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताए ।