दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।
यसैबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले आज बिहान १२:१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ मा पुगेर मतदान गरेका हुन् । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।