दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ६ चौघडा स्थित बंशगोपाल बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन्। ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।