दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।
यसैबीच काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार तथा कांग्रेस नेता गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्।
यसैबीच मतदान पछि थापाले आरोप/प्रत्यारोप र हिंसाको राजनीति अन्त्यका लागि मतदान गर्न आाम मतदातालाई आग्रह गरेका छन्।
अब आरोप/प्रत्यारोप र हिंसा नभएर विकासको राजनीति गर्नुपर्ने भन्दै थापा चुनावी स्टन्टका रुपमा आफैँलाई लक्षित गरी वम विस्फोट गराएको भन्ने आरोपप्रति निकै आक्रोशित देखिए।
उनले एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार केशव स्थापितको नाम नै लिएर भने, 'आफैँले आफैँमाथि बम हान्यो भनी अनुमान गर्न सजिलो छ, यस्तो अनुमान ज्यादै अमानवीय, क्रुर र असवंदेनशील हो, आफैँ गरेर देखाउनुस् अनि थाहा हुन्छ।'
उनले काठमाडौंका पूर्वमेयरसमेत रहेका स्थापितले विस्फोट शंकास्पद् देखिएको भन्दै छानविन गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए।
गगनले आफूलाई भेट्न अस्पताल पुगेका प्रतिस्पर्धी डा. राजन भट्टराईलाई आफ्ना कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति माफी मागिसकेको बताए। 'मैले उहाँसँग माफी मागिसकेको छु,' गगनले भने।
गगन चुनावी घरदैलोमा रहेका बेला उनलाई लक्षित गरी सोमबार चपलीमा गराइएको विस्फोटमा परी सामान्य घाइते भएका थिए।
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।