दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए।
यसैबीच काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन्।
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।