नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन्। तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पौडेलले दमौलीको सत्यवती मावि ‘ग’ निर्वाचन केन्द्रमा मतदान गरेका हुन्।
उनले ७० वर्षदेखिको लोकतान्त्रिक आन्दोलनका उपलब्धि साकार गर्न यो निर्वाचन महत्वपूर्ण भएको बताएका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समृद्धितर्फको यात्रा भएकाले मतदान गरेर राष्ट्रिय कर्तव्य पूरा गर्न उनले आम मतदातासँग आग्रह गरेका छन्।
मतदाताप्रति आफूलाई विश्वास भएको बताउँदै पौडेलले अवरोधका बाबजुद मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे। उनले राष्ट्र, समाज र भविष्यप्रतिको कर्तव्य पूरा गर्न निर्भयतापूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग प्रतिष्पर्धामा छन्। तनहुँमा २ लाख ११ हजार ३ सय ९६ मतदाता मतदानमा सहभागी हुँदैछन्।