वासिङटन पोस्टले व्यापक विरोधपछि नेपालको निर्वाचनसम्बन्धी समाचारको हेडलाइन परिवर्तन गरेको छ।
वासिङटन पोस्टले सुरुवातमा नेपालमा बिहीबार मतदान हुन लागेको उल्लेख गर्दै ‘चीन वा भारत कसको होला जीत?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचारको हेडलाइनलाई लिएर ट्विटरमा व्यापक विरोध भएको थियो। समाचार भारतीय पत्रकार विधि दोषीले लेखेकी थिइन्। समाचारमा नेपालमा कांग्रेस गठबन्धनलाई भारतीय प्रभावको र वामपन्थी गठबन्धनलाई चिनियाँ प्रभावका रुपमा ब्याख्या गरिएको छ। साथै नेपालमा चीनको बढ्दो प्रभावबारे उल्लेख छ।
समाचार प्रकाशित भएपछि ट्विटरमा वासिङटन पोस्ट र विधि दोषीलाई मेन्सन गरेर नै विरोध भएको थियो।
सेतोपाटी डिजिटल पत्रिकाका प्रधान सम्पादक अमित ढकालले वासिङटन पोस्टलाई मेन्सन गर्दै सोधेका थिए, ‘के अमेरिकी चुनावमा रसिया अथवा चीन विजयी भएको थियो? नेपालको विषय किन यस्तो घिनलाग्दो सामाग्री?’
रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले शीर्षक तोडमोड गरिएको आरोप लगाउँदै ‘फोहोरी समाचार’ भएको लेखेका थिए। समाचारमा उल्लेख गरिएका अखिलेश उपाध्यायले समेत विधि दोषीलाई मेन्सन गर्दै विरोध जनाएका थिए। उनले नेपाल आएपछि किन चीन र भारत बाहेकको दृष्टिकोणमा समाचार लेखिदैँन भनेर सोधेका थिए।
विरोधपछि वासिङटनपोस्टले शीर्षक परिवर्तन गरेको हो। अहिले समाचारको शीर्षक – ‘नेपालमा बिहीबार चुनाव, चीन र भारत नजिकबाट नियाल्दै बनाइएको छ।