सर्वोच्च अदालतले सर्लाही क्षेत्र नम्बर ४ का माओवादी उम्मेद्वार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।
न्यायाधीश दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दिएका यादवको रिट जारी नहुने निर्णय सुनाएको हो। यादवले आयोगको निर्णय कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै रिट दिएका थिए। तर, सर्वोच्चले त्यस्तो आदेश जारी नहुने निर्णय गरेको प्रवक्ता नारायण पन्थीले सेतोपाटीलाई जानकारी दिए।
आयोगले राहदानी दुरुपयोगमा यादवलाई विषेश अदालतले दोषी ठहर गरेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो।
पहिलो संविधानसभामा यादव तत्कालिन मधेशी जनअधिकार फोरमका सदस्य थिए। त्यही बेला उनी राहदानी दुरूपयोग गरेको आरोप लागेको थियो। पछि अदालतले दोषि ठहर गरेको थियो। यस्ता व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै सर्लाही ४का स्वतन्त्र उम्मेदवार गणेश कुमार सिंह र अनिल कुमार सिंहले आयोगमा उजुरी दिएका थिए। त्यसपछि आयोगले उनीहरुको माग अनुसार यादवको उम्मेद्वारी खारेज गरेको हो।
आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय विरुद्ध यादव मंसिर १२ गते सर्वोच्च अदालत गएका थिए।
अब सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेद्वार अमरेशकुमार सिंह र स्वतन्त्र उम्मेद्वार रामसोगारथ महतोबीच मात्र प्रतिश्पर्धा हुनेछ।