अन्तिम चुनावी प्रचार गर्दै दलहरू

अन्तिम चुनावी प्रचार गर्दै दलहरू


मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको प्रचार गर्न पाइने आज अन्तिम दिन हो। चुनाव हुन लागेका ४५ जिल्लाका १२८ क्षेत्रमा आज दलहरूले अन्तिम चुनावी सभा र घरदैलो गरिरहेका छन्।

सबै दलका शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर सात पुगेका छन्। देउवा  डडेल्धुरा उम्मेदवार छन् भने उनकी पत्नी अारजु देउवा कैलाली -५ मा उम्मेदवार छन्।

माअोवादी अध्यक्ष पुष्पकमल दाहाल केही दिन यता चितवन क्षेत्र नम्बर ३ मै चुनावी प्रचारमा व्यस्त छन्।

एमाले अध्यक्ष ओली भने अन्तिम प्रचारका लागि आफ्नो क्षेत्रमा नजाने भएका छन्। सोमबार उनी काठमाडौं – ५ मा महासचिव ईश्वर पोखरेलको चुनावी सभामा सहभागी हुनेछन् भने दिउँसो भक्तपुरको चुनावी सभालाई सम्बोधन गर्नेछन्।

भोलिमात्र झापा जाने ओली मत हाल्न फेरि भक्तपुर आउनेछन्।

निर्वाचन आयोगका अनुसार आज राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन। आयोगले एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइन जनाएको छ।

मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.