पहिलो चरणमा स्थगित रुकुम पश्चिमका दुई मतकेन्द्रमा आज मतदान


रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ।

मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि निर्वाचन आयोगले गत १० गते एको केन्द्रको मतदान स्थगित गरेको थियो।

मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एकएक मतदान केन्द्रमा पुनः मतदान भइरहेको हो।

बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ।

दुवै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

बाँफीकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहेका  तेजप्रसाद पौडेललाई खटाइएको छ भने आठबिसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँबर मतदान अधिकृतका रुपमा खटिएका छन्।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत खसेको थियो। आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेको थियो। दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो। एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबीसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.