नेपाली कांग्रेसका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार दमननाथ ढुङ्गानाले देशको अस्थिरता हटाएर प्रजातन्त्रको स्थापित गर्ने आफ्नो अभियान रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा कुरा गर्दै ढुङ्गानाले दोहन भइरहेको प्रजातन्त्र जोगाउनु आवश्यक रहेको बताए ।
उनले देशमा रोजगार सृजना गरेर कृषिमा क्रान्ति गर्नु आफ्नो एजेण्डा रहेको बताए। भक्तपुरमा अहिलेसम्म अपेक्षाकृत विकास हुन नसकेको औँल्याउँदै अब आफूले युवावर्गको हितमा काम गर्ने बताए । उनले युवाहरुलाई अग्रसर गराएर राजनीतिक दोषको पहिचान गर्ने बताए ।
भक्तपुरमा विकासको सम्भावना धेरै भएको बताउँदै उनले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए। भक्तपुरका जनता आफ्नो पक्षमा रहेको बताउँदै उनले आफू लामो समय राजनीतिक लडाईको लागि लडेको दाबी गरे। सबै जनताको नजरमा आफू राम्रो उम्मेदवारको रुपमा रहेको उनको भनाई छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे आफ्नो मित्र भएको जानकारी दिँदै चुनावका बेला आफ्नै दलका उम्मेदवारलाई भोट माग्नुपर्ने बाध्यतामा विजुक्छे रहेको बताए। यद्यपी आफू जित्ने र उपलब्ध भएकामध्ये राम्रो उम्मेदवार भएकाले आफूलाई सहयोग गर्न उनले आग्रह गरे। नजित्ने उम्मेदवारलाई भोट माग्नुको कुनै अर्थ नरहेको उनको भनाई छ ।
भक्तपुरमा आफूलाई जित्नकै लागि कांग्रेसले पठाएको बताउँदै उनले आफूले चुनाव जितेपछि राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहने दाबी गरे। चुनावका बेला उम्मेदवारमाथि आक्रमण गरेको आरोप लागेका नेत्रविक्रम चन्दलाई उनले अराजक गतिविधि छोडेर चुनावमा आउन सल्लाह दिएका छन्।