पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरालाई हेर्न नर्भिक अस्पताल पुगेका छन्।
छोरा प्रकाश दाहालको निधन भएपछि झापाबाट चुनावी कार्यक्रम छोडेर छोरी गंगा र ज्वाईँ जीवन आचार्य तथा नातीनीसहित प्रचण्ड काठमाडौं आएका हुन्। काठमाडौं ओर्लिएलगत्तै दाहाल लाजिम्पाटस्थित घर गएका थिए। त्यसपछि घरको स्थिति बुझेर उनी अस्पताल आएका हुन्।
दाहालको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ। यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।
प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।
२०३८ सालमा जन्मिएका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन्।
उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगिसकेकी छन्। उनको निधन भएको खवर पाउनासाथ माओवादी र अन्य पार्टीका राजधानीमा रहेका नेताहरु अस्पताल पुगेका छन् । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरु नर्भिकमै छन् ।
कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर श्री एयरलाइन्सको पहिलो उडानसहित छोरा लिएर काठमाडौं आउँदैछिन्। यस्तै चितवनमा रहेकी दिदी रेणु दाहाल काठमाडौं आउँदैछिन्। अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भीड लागेको छ।
यो पनि पढ्नुहोस्